केसी समर्थकमाथि प्रहरीको लाठी चार्ज

एविसि खबर

काठमाडौं, ९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय अगाडि प्रदर्शन गर्न गएका वरिष्ठ चिकित्सक गोविन्द केसीका समर्थकलाई प्रहरीले लाठी हानेको छ, केहीलाई धरपकड गरेको छ । यसक्रममा करिब एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घम्साघम्सी हुँदा प्रदर्शनकारीलाई प्रहरीले लाठी हानेर लखेटेको थियो ।

आइतबार ११ बजे चिकित्सक, नर्स, विद्यार्थी तथा सर्वसाधारण आयोग अगाडि प्रदर्शन गर्न गएका थिए । ठूलो संख्यामा परिचालित प्रहरीले जुलुशलाई टंगालस्थित भाटभटेनी सुपरमार्केट अगाडि नै रोकेको थियो । प्रदर्शनमा उत्रिएकाहरूले सुरूमा ‘तपाईं किन पागल?’ भनी सोधिएको प्रश्नमा विभिन्न उत्तर दिए। कसैले ‘भ्रष्टाचारको विरोध गर्ने म पागल’, कसैले ‘सोलुखुम्बुमा स्वास्थ्य सेवा पुर्याउन खोज्ने म पागल’, कसैले ‘तीन करोड सदाचारीको न्याय चाहने म पागल’, भनेका थिए ।

त्यसपछि सबैले ‘म पनि पागल, हामी पनि पागल’ भनेर नारा लगाउन सुरू गरेका थिए। ‘माफियाको मन्त्र, लोकमान तन्त्र’, ‘सांसदको घडीमा लोकमानको ब्याट्री’, ‘सबैतिर प्रष्ट छ, अख्तियारमै भ्रष्ट छ’, ‘लोकमान मुर्दावाद’, लगायत नारा लगाएका थिए ।

पानीको फोहोरासहित नेपाल प्रहरीको टोली अग्रपंक्तिमा थियो । पछिल्तिर सशस्त्र प्रहरीको टोली तयारी अवस्थामा राखिएको थियो। नेपाल प्रहरीका दुई जना डिएसपीको कमाण्डमा रहेको प्रहरीले नाराबाजीपछि अगाडि बढ्ने क्रममा प्रदर्शनकारीलाई धरपकड र लाठी प्रहार गरेको थियो । चिकित्सा क्षेत्र सुधारर अख्तियार दुरूपयोग अनुसन्धान आयोका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग माग गर्दै वरिष्ठ चिकित्सक केसी पन्ध्र दिनदेखि अनसनरत् छन् । चिकित्सा क्षेत्रमा आफ्नो र आफ्ना नातेदारको निहित स्वार्थमा भ्रष्टहरूसँग मिलेर कार्कीले हस्तक्षेप बढाएको भन्दै केसीले महाअभियोग माग गर्दै अनसन बसेका थिए ।

केसीले महाअभियोग माग गरेपछि अख्तियारले उनलाई ‘पागल’ भनेको थियो। विरोधमा उत्रिएकाहरूले तीन करोड नेपालीको स्वास्थ्यको पक्षमा बोल्दा ‘पागल’ भनिएकाले आफूहरू पनि पागलै भएको भनेर प्रदर्शन गरेका थिए । लामो समय बित्दा पनि केसीका माग पूरा नभएपछि उनको जीवन जोखिमपूर्ण बनेको छ। केसीको जीवनरक्षा र माग पूरा गर्न दबाब दिँदै शनिबार माइतीघरमा हजारौं उत्रिएका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment