कविता : जन्माइदेउ युगपुरुष

कविता

– मनुषा राई

आज सबेरै
मेरो निजी कोठामा
आफ्नै बिछ्यौनामा
सुतिरहेको रातमा
तन्नेरी भएर आयो मेरो कलम

जिस्कायो मलाई मेरो तन्नेरी भएर
ऊ मसँग चल्न थाल्छ
ओ मनु उठ !
सुम्सुम्याउँछ र अंकमाल गर्न थाल्छ
लाज नभएको नकचरो झैँ
निदाएको मलाई हल्लाउँदै
काउकुती लगाएर उठाउँछ
अनि भन्न थाल्छ
मनु !
तिमी तरुनी हौ एक्लै नसुत
आऊ हामी प्रेम गरौँ
वैँशमा त
युवाहरूले रात पनि उपयोग गर्नुपर्छ
सृजना गर्नका लागि निदाउनु हुँदैन
अनि भन्छ ऊ
उठ ! उठ ! उठ !
तिमीभित्रको नारित्व र सृजनालाई
गुम्साएर दबाएर नसुत
आऊ हामी संभोग गरौँ
यो रातलाई स्वर्णिम बनाऔँ
नयाँ बिहानी नआउँदै
नयाँ सिर्जनाको वीज उमारौँ

ब्युझेर म बिस्तारै बिस्तारै
ऊसँग प्रेम गर्छु
सामसुम गर्दै अंकमाल गर्छु
मीठो चुम्बन दिन्छु
अनि आलिंगनमा
हामी प्रेमक्रिडा गरेर
म गर्भधारण गर्छु
अनि ऊ भन्छ मलाई
एउटा सुनौलो बिहानी जन्माइदेउ
सुन्दर देशको कुरुप मन भएका
यी खाते नेताजस्ता कदापि होइन
धुर्मुस र सुन्तलीको जस्तो मन भएको
माहावीर पुन जस्तो बुद्वी र ज्ञान भएको
एउटा सुन्दर बिहानी जन्माइदेऊ
मनु !
जन्माइदेऊ एउटा त्यस्तो युग पुरुष
जसले समाजलाइ नै पूरापुर परिवर्तन गर्न सकोस

Facebook Comments

One thought on “कविता : जन्माइदेउ युगपुरुष

Leave a Reply