अब अविश्वासको प्रस्ताव फिर्ता नहुने

राजनीति

एविसि खबर
काठमाडौं, ७ साउन । चलिरहेको राजनीतिक गतिरोधका बिच विपक्षी ३ प्रमुख राजनीतिक दलले संसदमा पेश भएको अविस्वासको प्रस्ताव फिर्ता नलिने भएका छन् । कांग्रेस, माओवादी र मधेसी मोर्चाले प्रधानमन्त्रीविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता नलिने निर्णय गरेका हुन् । साथै उनीहरुले अब प्रधानमन्त्रीको राजीनामा नमाग्ने भन्दै अविश्वासको प्रस्तावलाई प्रक्रियामा अघि बढाउन संसदसँग माग गरेका छन् ।
शुक्रबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठक बसेको थियो । बैठकले तीन दलको बैठकमा कांग्रेस नेता रामचन्द्र पौडेलले सहमतिका लागि भन्दै राखेको प्रस्ताव अस्वीकार गरेको छ ।
उता बिहीबार बसेको प्रमुख तीन दलको बैठकमा कांग्रेस नेता पौडेलले प्रधानमन्त्रीले राजीनामा दिने र अविश्वासको प्रस्ताव फिर्ता लिन प्रस्ताव पेश गरेका थिए । बैठकपछि कांग्रेस नेता विमलेन्द्र निधिले भने, ‘अविश्वासको प्रस्ताव कुनै हालतमा फिर्ता हुँदैन । अब हामी प्रधानमन्त्रीको राजीनामा माग्दैनौं ।’
कांग्रेस नेता पौडेलले रखेको सहमतिको प्रस्तावबारे सोधिएको प्रश्नमा उनले प्रधानमन्त्रीले नै नमानकाले अब त्यसको औचित्य सकिसकेको बताएका छन् । कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले बजेट आश्रति विधेयक नभइ सिधैं अविश्वासको प्रस्तावमाथि संसदमा पहिले छलफल हुनुपर्ने बताए ।
दलहरुबीच अविश्वासको प्रस्ताव पहिले कि बजेट आश्रति विधेयक पहिले संसदमा छलफल गर्ने भन्नेमा विवाद छ । एमालेले बजेट आश्रति विधेयक पहिले पेश गर्नु पर्ने अडान राख्दै आएको छ र भने कांग्रेस र एमाओवादीले अविश्वासको प्रस्ताव पहिले पेश हुनु पर्ने भन्दै आएका छन् । कांग्रेस, माओवादी र मधेसी मोर्चाको बैठकले सरकारको नेतृत्व गरिरहेको एमाले संसदमा अवरोध गरेको भन्दै यो गलत भएको बताएको निष्कर्ष निकालेको छ ।

Facebook Comments

Leave a Reply