परदेश बसेर निरन्तर साधानामा गीतकार दाहाल

अरुणिमा

काठमाडौं, २७ असार । संगीतको स्वादमा रमाउनु पूर्व यसको मुहानका रुपमा चिनिने स्रष्टा हुन् गीतकार । गीतकारको शब्दले संगीतलाई नेतृत्व गर्छ भावको नजिकमा पु¥याउँछ । अनि बल्ल बन्छ गीत र उदाउँछ गायनमा ।

गायन संगीत सिर्जना भित्रको सबै भन्दा प्रचारित व्यक्ति दोस्रोमा संगीतकार अलिअलि आउने नाम तर गीतकार भने प्राय गुमनाम नै रहन्छन्, यो क्षेत्रमा । गुमनाम नै भएपनि नेपाली गीत संगीतको पाटामा महत्वपुर्ण योगदान दिइरहेका स्रष्टा हुन् गीतकार रमेश दाहाल । नेपालको अधिकांस जिल्लाका भुगोललाई नजिकबाट छामीसकेका दाहाल गीतको माध्यामबाट संगीतको दुनियाँमा संर्घषशिल छन् । मुख्यतया गीत लेखन बिधामा कलम चलाउने ३९ वर्षे रमेश दाहाल यतिबेला अध्ययनका लागि अमेरिकामा बस्छन् । परदेशमै बस्दै आएपनि उनको लेखनमा नेपाली परिवेश, समाजका प्रष्ट रेखाहरु सरलरुपमा बग्ने गरेका छन् ।

अहिले सम्म करिब ८ सय ५० भन्दा बढि नेपाली भाष र ५० भन्दा बढि अंग्रेजी भाषामा उनले आफ्नो सिर्जनालाई उतारि सकेका छन् । सिर्जना यात्रामा आउन उनलाई जीवनका दुःखहरुले प्रेरित गरेको बताउँछन् । नौ वर्ष उमेरमा नै आमाको स्वर्गारोहण भएपछि कष्टकर बाल्यकाल बिताएका उनले त्यहि दुःख, अभाव तथा अफठ््याराहरू नै लेखनको उर्जा भएको बताए ।

०४८ सालदेखि नै गीत लेख्न सुरु गरेपनि ०५७ सालमा पहिलो गीत गणेश पराजुलीको संगीतमा यशोदा पराजुलीको स्वरमा ‘फेरी तिम्रो सम्झनाले’ बोलको गीत रेकर्ड भएको हो भने ०६६ सालमा रेडियो नेपालले आयोजना गरेको अधिराज्यव्यापी आधुनिक गीत प्रतियोगितामा दाहालको रचना ‘पूर्वको बादल जल्यो, पश्चिममा हुरी चल्यो’ बोलको गीतले प्रथम स्थान हासिल गरेपछि उनि रेडियो नेपालको ‘क’ श्रेणीको गीतकारको रूपमा दर्जसमेत भएका छन् । दोलखाको मैनापोखरीमा जन्मिएका दाहाल सुरुवातीका दिनहरूमा देशभक्ति भावनाका कविता पनि लेख्ने गरेका थिए ।

विकास, समानता, विभेद र पर्यावरण जस्ता बिश्वव्यापी मुद्दामा गीत लेख्न रुची भएको र अंग्रेजी गायक तथा संगीतकारसँग काम गर्ने रहर लागेको पनि बताउँछन् ।

विभिन्न गायक एवं संगीतकारहरूको २५ वटा जति म्युजिक एल्वममा काम गरिसकेका दाहालको ०६३ सालमा १ सय ५१ वटा गीत समावेश गरिएको ‘बालुवाको घर’ गीत संग्रह प्रकाशित छ भने ‘हिउँको फूल’ प्रकाशनको तयारीमा रहेको तर देस बाहिर भएकाले तत्काललाई स्थगित गरिएको उनी बताउँछन् । १३ वर्षसम्म हेल्भिटास नेपालको झोलुंगे पुल कार्यक्रममा काम गर्दा दोलखा, रामेछाप, ओखलढुंगा, खोटाङ, सिन्धुपाल्चोक, काभ्रे, सोलुखुम्बु जिल्लाका हरेक जस्तो गाउँहरूमा निर्माण भएका झोलुंगे पुलहरूमा, प्राबिधिक एवं सामाजिक सेवाका लागि जिम्मेवारी बहन गरेको र संखुवासभा, खोटाङ, बैतडी, झापा, इलाम र दोलखा जिल्लाहरूको मोटरबाटोमासमेत काम गरी १७ वर्षसम्मको नेपाली भूगोल र हावापानीसँगको भोगाईले प्रभाव पारेकाले गीतहरूमा मुख्यतः गाउँले जनजीवन, विकास, वास्तविक घटनाहरू बिबिधता र माया प्रेमसमेतका विषयहरू उनका गीतहरूमा पाउन सकिन्छ ।

दाहालका किनारमा उभिएर जल हान्ने दाई (सितल सुवानी), फेरी तिम्रो सम्झनाले (गणेश र यशोदा पराजुली), कहिले बन्ला हाम्रो गाउँमा मोटर गुड्ने बाटो (आनन्द कार्की र माण्डवी त्रिपाठी), खैरो खैरो कपाल तिम्रो (एड्रियन प्रधान), सोचे जस्ती छ्यौ केहि (शिव परियार)लगायत गीतहरू चर्चित छन् । त्यस्तै उनले शक्ति बल्लव श्रेष्ठ, सिलाबहादुर मोक्तान, ओम बिक्रम बिष्ट, राम थापा, गणेश पराजुली, न्हू बज्राचार्य, चन्द्र कुमार दोंग, भानु थापा, कल्याण सिंह, सचिन सिंह, डेनी निरौला, किरण श्रेष्ठ, राहुल प्रधान, टिका दाहाल आदिसँग सहकार्य गरिसकेका पनि छन् । दाहालले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट २०१६ को मे महिनामा बातावरण बिज्ञान तथा नितिमा उच्च–शिक्षा अध्यन सम्पन्न गरिसकेका छन् ।

Facebook Comments

Leave a Reply