द्वन्द्वकालमा लुटिएको रकम क्षतिपूर्ति माग

एविसि खबर
पर्वत, २४ असार । यहाँका एक द्वन्द्वपीडितले द्वन्द्वकालमा लुटिएको रकमको क्षतिपूर्तिको माग गरेका छन् । दक्षिण पर्वतको बेउलीवास गाविसका सचिव पुण्यप्रसाद काफ्लेले ०६१ साल साउन ३ गते तत्कालीन माओवादी केन्द्रद्वारा लुटिएको रकमको क्षतिपूर्ति माग गरेका हुन् ।

बेउलीवास र रामपोखरा गाविसमा कार्यरत रहँदा दुईवटा गाविसको विकास निर्माणको रकम भुक्तानीका लागि सदरमुकाम कुश्माबजार लिएर गएको नौ लाख ७५ हजार रुपैयाँ र महत्वपूर्ण कागजात माओवादी कार्यकर्ताले बाटोमा लुटेका थिए । करिब २० जनाको समूहमा आएका माओवादी कार्यकर्ताले रकम लुटेर लगेको उनले बताए । रकम लुटिएपछि ०६१ साल असोज ४ गते जिल्ला विकास समिति र जिल्ला प्रशासन कार्यालयमा जानकारी गराएको भए पनि अहिलेसम्म कुनै क्षतिपूर्ति र रकम फिर्ता नपाएको गुनासो गरे । १२ वर्षसम्म उक्त रकमको क्षतिपूर्ति नपाउँदा आफू घरबारविहीन हुने अवस्थामा पुगेको उनको गुनासो छ ।

गाउँ विकास समितिको रकम भएपनि त्यसमा विभिन्न उपभोक्ता समिति, आमा समूह, लक्षित वर्गको रकम भएकाले आफूले ऋण खोजेर भुक्तान गरेको उनले बताए । उनले भने लुटिएको रकम भुक्तान गर्नकै लागि आठ मुरी धान फल्ने जग्गा बिक्री गरे तर अझै धेरै ऋण बाँकी रहेको छ । क्षतिपूर्तिका लागि गृह मन्त्रालय, शान्ति तथा पुनःनिर्माण मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयमा पुगेर पटक–पटक माग गर्दा पनि द्वन्द्वकालमा लुटिएको वा सम्पत्ति क्षति भएकालाई क्षतिपूर्तिस्वरुप १० हजार रुपैयाँ मात्रै दिने आश्वासन पाएपछि उक्त रकम आफूले नलिईकन फर्किएको काफ्लेले गुनासो गरे ।

Facebook Comments

सम्बन्धित

Leave a Comment