चार वर्षपछि बम विस्फोट गराउने पक्राउ

एविसि खबर
सिराहा, २० असार । चार वर्ष अघि जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराई फरार रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गर्ने तथा हातहतियार खरखजाना मुद्दामा समेत संलग्न आरोपमा सिरहाको हाकपरा गाविस–६ निवासी २६ वर्षीय विलक्षण यादवलाई पक्राउ गरेको हो ।

तत्काल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) मा आबद्ध भई ०६८ सालमा कुकर बम विस्फोट गराउने तथा हातहतियार खरखजाना मुद्दामा समेत संलग्न रहेकाले यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । खोजतलास गर्ने क्रममा आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई पक्राउ गरिएको हो ।

यस्तै सिरिहामा स्थानीय एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिरहाको गोलबजार नगरपालिका–५ निवासी चन्देश्वर भनिने चन्दे साह हलुवाइलाई जिल्ला अदालत सिरहाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । पीडितको जाहेरीको आधारमा पक्राउ परेका हलुवाइविरुद्धको जबर्जस्ती करणी मुद्दामा आइतबार भएको सुनुवाइमा अदालतले हलुवाइलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।

आदेशअनुसार आइतबार साँझ नै हलुवाइ पुर्पक्षका लागि सिरहा जिल्ला कारगार पठाएको छ । गत २०७३ वैशाख १५ गते गोलबजार नगरपालिका–५ निवासी १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरी फरार रहेको भन्दै प्रहरीले हलुवाइलाई पक्राउ गरेको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment