थामखर्क विमानस्थलमा उडान स्थगित

समाचार

संगीता राई
खोटाङ, २० असार , खोटाङको दक्षिणी क्षेत्रमा रहेको थामखर्क विमानस्थलमा उडान स्थगित भएको छ । कच्ची बिमानस्थललाई वर्षाका कारण सञ्चालन गर्न नसकिएकाले आउँदो असोजसम्मका लागि उडान स्थगित गरिएको हो ।

केहीदिनदेखि लगातार वर्षा भएपछि नागरिक उड्यान मन्त्रालयले सूचना पठाएर उडान स्थगित गर्न निर्देशन दिएको विमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले बताउनुभयो । नेपाल एयरलायन्सको विमानले हप्ताको मङ्गलबार र शनिबार थामखर्क–काठमाडाँै तथा शनिबार एक दिन थामखर्क–बिराटनगरका लागि उडान भर्दै आएको थियो ।

उडान स्थगित भएपछि दक्षिणी क्षेत्रका २० गाविससहित छिमेकी जिल्ला भोजपुरका सर्वसाधरणसमेत मर्कामा परेका छन् । यातायातको सुविधा नपुगेको त्यस क्षेत्रमा विमानस्थलसमेत अवरुद्ध भएपछि सर्वसाधारण मर्कामा परेका हुन् ।

अहिलेसम्म यातायातको पहुँच नपुगेको त्यस क्षेत्रका बिरामीलाई उपचारका लागि तत्काल बाहिर पठाउन नसक्दा अकालमै धेरैले ज्यान गुमाएका छन् । नागरिक उड्यान प्राधिकरणकोे ९ करोड २५ लाख २९ हजार सहयोगमा विमानस्थल कालोपत्रे गर्ने भनिएपनि हालसम्म कुनै काम सुरु भएको छैन् ।

२०५६ सालबाट दक्षिणी क्षेत्रका सर्वसाधरणलाई लक्षित गरेर उडान सुरु गरिएको विमानस्थल हालसम्म कालोपत्रे नहुँदा हिउँद महिनामा मात्र सञ्चालन हुदै आएको छ । गत साल डिटेल सर्भे गरिएको विमानस्थलको कालोपत्रेका लागि यस वर्ष मन्त्रालयबाट साँढे पाँच करोड बजेट बजेट छुट्टिएको छ ।

दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा थामखर्कसहित तीन वटा विमानस्थल सञ्चालनमा रहेका छन् । क्षेत्र नम्बर एकमा लामीडाँडा र क्षेत्र नम्बर दुईमा खानीडाँडा र थामखर्क विमानस्थल रहेका छन् ।

Facebook Comments

Leave a Reply