वैतडीमा दुई घर पुरियो

एविसि खबर
बैतडी, १७ असार । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा बैतडीको गोकुलेश्वरमा दुई घर पुरिएका छन् । गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा दुई वटा घर पुरिएका हुन् । पहिरोले धनी भुल र राजु भुलको घर पुरिएको गोकुलेश्वर प्रहरी चौकीका इञ्चार्ज भीमबहादुर मल्लले जानकारी दिए ।

पहिरोले घर पुरिँदा घरमा रहेको अन्नपात, छ वटा बाख्रा, एक हल गोरु र एक गाई पुरिएका छन् । पहिरोले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए । यस्तै पहिरोका कारण महाकाली राजमार्ग अवरुद्घ भएको छ । बैतडीको सतवाझदेखि दार्चुलाको गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने गोकुलेश्वर–१ बागाबगरमा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो । बागाबगरमा माथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रूपमा बन्द भएको हो ।

यातायातका साधन पूर्णरूपमा बन्द हुँदा बैतडीबाट बाहिरिने र भित्रिने लामो तथा छोटो दूरीका यातायातका साधन रोकिएका छन् । सडक अवरुद्ध हुँदा काठमाडौं, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला, बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । लगातारको वर्षा नरोकिएका कारण पहिरो पन्छाउने काममा ढिलाइ भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment