मास्टरलाई झोला बोक्न निर्देशन

एविसि खबर

गोरखा, १५ असार । गोरखाका सरकारी विद्यालयमा पढाउँदै आएका शिक्षकले विद्यालय जाँदा अनिवार्यरूपमा झोला बोक्नुपर्ने भएको छ । शिक्षकले दिनहुँ विद्यालय पोसाक र शैक्षिक सामग्री भएको झोला बोक्न जिल्ला शिक्षा कार्यालयले निर्देशन दिएको हो ।

डायरी, सन्दर्भ सामग्री र आवश्यक शैक्षिक सामग्री राख्न सजिलो बनाउन शिक्षकलाई झोला दिइएको जिल्ला शिक्षा अधिकारी दीपेन्द्र सुवेदीले बताए । विद्यालयमा शिक्षाको गुणस्तर उकास्न शैक्षिक सामग्रीको प्रयोग र विषयवस्तुप्रति पूर्वतयारीका लागि आवश्यक सामग्री राखेर झोला बोक्न लगाइएको हो । विद्यार्थीको गुणस्तर सुधारका लागि विनियोजन गरिएको बजेटले शिक्षकले झोला खरिद गर्न पाउने सुवेदीको भनाइ छ । विद्यालयले पाउँदै आएका शैक्षिक अनुदान र प्रशासनिक खर्चबाट पनि झोला खरिद गर्न सकिने उनले बताए । विद्यालयका प्रअहरूले झोला खरिद गरेर सबै शिक्षकलाई वितरण गर्न सुरु गरेका छन् ।

‘शैक्षिक सामग्री राख्न झोला वितरण गरेपछि विनातयारी कक्षाकोठामा जाने शिक्षक निरुत्साहित हुन्छन् र शिक्षाको गुणस्तर बढ्छ भन्ने हाम्रो विश्वास छ’ जिशिअ सुवेदीले भने, । शिक्षकले झोला बोके÷नबोकेको र आवश्यक शैक्षिक सामग्री, सन्दर्भ सामग्रीको प्रयोग गरे÷नगरेको अनुगमन गरिने शिक्षा कार्यालयले जनाएको छ । गोरखाका ४ सय ५७ वटा सरकारी विद्यालयमा २ हजार ६ सय २३ जना शिक्षक कार्यरत रहेका छन् । झोला बोकेपछि शिक्षक थप जिम्मेवार हुन्छन् भन्ने अपेक्षा गरिएको जिशिअ सुवेदीको तर्क छ । साथै, विद्यालय पोसाक अनिवार्य रूपमा लगाउन शिक्षकलाई निर्देशन दिइएको पनि उनले बताए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment