तथ्यांक संकलन गर्न गएका कर्मचारीमाथि कुटपिट

एविसि खबर
काभ्रे, १५ असार । भूकम्पपीडितहरूको तथ्यांक संकलन गर्न गएका सरकारी कर्मचारीमाथि काभ्रेमा कुटपिट भएको छ । जिल्लाको डाँडापारीको घर्तिछाप गाविस सचिव रेवतीरमण निरौलासमेतका सरकारी कर्मचारीमाथि कुटपिट भएको हो । भूकम्पबाट भएको क्षतिको आवास निर्माण सम्झौता अनुरूप बास्तविक क्षति विवरण लिन त्यहाँ पुगेका उनीहरूलाई घर्तिछाप–६ का जयराम आलेमगर र सोही गाविस ७ का उस्तास आलेमगर ले ८ गते असारका दिन राती ८ बजे मादकपदार्थ सेवन गरी कुटपिट गरेका आरोप लागेको छ ।

उनीहरूले धम्कीमा बनेपा बस्ने मामा नाता पर्नेको पनि भूकम्प पीडितको आवास निर्मणमा नाम समावेश गर्नुपर्ने भन्दै निहँु खोजेको बताइएको छ । उनीहरूले सार्वजनिक स्थलमा अपशब्द बोल्ने, धाक धम्की दिँदै कुटपिट गरेको भन्ने उजुरी काभ्रे जिल्ला प्रहरीमा परेपछि उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

उनीहरूले मामाको घर भूकम्पले भत्केको सूचीमा राख्नुपर्ने दबाबलाई अस्वीकार गर्दा कुटपिट भएको पनि बताएका छन् । कुटपिट पछि घाइते भएका उनीहरूले उपचार गराएर घर फर्किसकेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेको उनीहरूलाई भने प्रहरीले सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment