नुवाकोटमा भूकम्प पीडितको ८ हजार बढी गुनासो

एविसि खबर
नुवाकोट, ११ असार । नुवाकोटमा भूकम्प पीडितको सूचिमा आफ्नो नाम फरक परेको तथा नामै नपरेको भन्दै करिब ८ हजार बढी गुनासो संकलन भएको छ । उनीहरुले सरकारले केन्द्रीय तथ्याङ्क विभागमार्फत गाउँगाउँमा वास्तविक भूकम्पपीडितको सूची निकाल्न सर्भेयर खटाएर तथ्याङ्क सङ्कलन गर्दा नाम छुटेको भन्दै जिविसमा गुनासो गरेका हुन् ।

जिविसले प्रकाशन गरेको तथ्यांकको आधारमा जिविसमा रहेको ६१ गाविस र विदुर नगरपलिकाको गरी जममा आठ हजार ५ सय ५६ गुनासो दर्ता भएको छ । नुवाकोटमा लाभग्राहीको सूचीमा ६५ हजार ७५९ घरधुरीको नाम प्रकाशन भएको छ । लाभग्राहीको सूचीमध्ये दुई हजार ८ सय ७५ घरका लागि अनुदान सम्झौतासमेत भइसकेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयले जनाएको छ ।

गाविसका लागि बैंकिङ प्रक्रियाका लागि बैंक तोक्ने काम सम्पन्न भएकाले अब धमाधम सम्झौताको काम अघि बढ्ने उपक्षेत्रीय कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले दर्ता भएका गुनासा सरकारले बनाएको नीतिअनुसार सम्बोधन गरिने जानकारी दिए ।

कतिपय गाविसमा गुनासोको सम्बोधन नभएसम्म सहयोग सम्झौता गर्न रोकिएको पाइएको छ । तर उपक्षेत्रीय कार्यालयका प्रमुख सापकोटाले भने अहिले सूचीमा भएकाको काम अघि बढाउँदै जान जिविसलाई आग्रह गरेका छन् । विदुर नपाबाट ८ सय ८९ गुनासो दर्ता भएको छ भने गाविसमा सबैभन्दा धेरै जिलिङ गाविसबाट ५ सय ५४ दर्ता भएको छ । नुवाकोटमा अहिलेसम्म २१ गाविसमा रकम सम्झौताको काम सुरु भएको छ । सबैभन्दा बढी जिलिङ गाविसमा ८ सय ५९ सम्झौता भएको प्राधिकरणको उपक्षेत्रीय कार्यालयले जनाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment