पानी विनाको खुलादिसामुक्त घोषणा

समाचार

एविसि खबर
डोटी, १० असार । डोटीमा रहेको दीपायल सिलगढी नगरपालिकामा ५० प्रतिशत शौचालय बनेपछि खुला दिसामुक्त नगरपालिका घोषणा गरिएको छ । जिल्लामा रहेका ५० गाविस खुला दिसामुक्त (ओडिएफ) घोषणा भएको वर्षौंपछि दीपायल सिलगढी नपा खुला दिसामुक्त घोषणा गरिएको हो ।

नगरपालिकाका कारण जिल्ला नै खुला दिसामुक्त घोषणा हुन चुकेको भन्ने चौतर्फी दबाबपछि नगरपालिकाले यो कदम चालेको नगरपालिकाका कार्यकारी अधिकृत राजबहादुर शाहीले राससलाई बताए । एकसय पाँँँँचौँ नगरपालिका वर्ष मनाइरहेका बेला डोटीको दीपायल–सिलगढी नगरपालिका बुधबार खुला दिसामुक्त घोषणा भएपछि नगरवासीले खुुसियाली मनाएका छन् । जम्मा ७३.७९ वर्ग किलोमिटर क्षेत्रफल भएको नगरपालिकामा पाँच हजार ४९३ घरधुरी रहेका छन् । २३ हजार ४१६ जनसङ्ख्या रहेको नगरपालिका ओडिएफ घोषणा गर्न निकै चुनौती भएको कार्यकारी अधिकृत शाहीले बताए ।

मानवीय सभ्यताको विकासका रूपमा लिइने नगरपालिकामा मानवसम्बन्धि सम्पूर्ण क्रियाकलापको विकास हुनु आवश्यक रहेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयका उपप्रशासक धर्मानन्द जोशीले बताए । निकट भविष्यमै जिल्लालाई नै ओडिएफ गर्न उपप्रशासक जोशीले शुभकामनासमेत दिएका छन् ।

खानेपानीको टड्कारो समस्या रहेको दीपायल सिलगढी नगरपालिकामा ओडिएफ गर्नुको कुनै अर्थ नरहेको समेत स्थानीयवासीले बताएका छन् । पिउनलाई पानी नभएपछि शौचालयमा के को पानी हाल्ने, एक स्थानीयवासीले बताए । करिब आधा घन्टा लगाएर पिउनलाई ल्याएको पानी शौचालयमा हाल्दा कति समय खर्च हुन्छ ? काँग्रेस नेता विजय खड्का प्रश्न गर्नुहुन्छ ।

क्षेत्रीय सदरमुकाम रहेको दीपायल सिलगढी नगरपालिकामा शौच जाँदा मिनरल वाटर प्रयोग गर्नुपर्ने बाध्यता जस्ताको तस्तै रहेको यहाँको स्थानीयवासीको आरोप छ । भएका मुहानको व्यवस्थापन गर्न नसक्ने नगरपालिकाले हावाको भरमा र दबाबका कारण ओडिएफ घोषणा गर्नु नाम मात्रको ओेडिएफ भएको राप्रपाका बहादुर खड्काले बताए ।

एक घर एक शौचालय नारा तय गरिएको ओडिएफ घोषणा भएपनि ११ घर एक चर्पीसम्म रहेको खड्काले बताए ।

Facebook Comments

Leave a Reply