होसियार ! भान्सामा पनि ‘सिलिन्डर बम’

एविसि खबर
काठमाडौं ४ असार । हाम्रो भान्सा घरहरु आजभोलि त्यति सुरक्षित रहेका छैनन् । खाना पकाउने ग्यासको सिलिन्डर नै अहिले प्रमुख समस्याका रुपमा देखा पर्न थालेको छ । ग्यास उद्योगीहरुले गैरजिम्मेवार ढंगले असुरक्षित किसिमका सिलिन्डर बजारमा पठाइरहँदा आम नागरिकको भान्साहरुमा ‘सिलिन्डर बम’ ले असुरक्षा बढाएको हो ।

यस्ता असुरक्षित सिलिन्डरबारे उपभोक्ता सचेत हुन नसक्दा यस्तो समस्या देखा पर्न थालेको हो । भने त्यस्तालाई नियन्त्रण गर्न सरकारले समेत उपर्युक्त कदम चालेको देखिन्न । उद्योगीहरु भने गल्ति सच्याउन र उपभोक्तालाई सचेत गराउनुको साटो उल्टै कारवाहीमा परेका उद्योगीका लागि आन्दोलन घोषणा गरिरहेका छन् ।

त्यसैले अब उपभोक्ता आफैं पनि ग्यास सिलिन्डरको जोखिम बुझ्न र त्यस्ता घातक बिष्फोटबाट बच्न आफैं सजग हुनु आवश्यक देखिएको छ । तपाईंले कहिल्यै ग्यास सिलिन्डरको म्याद गुज्रने मिति (एक्सपायर्ड डेट) जाँचेर खरिद गर्नुभएको छ ? धेरै उपभोक्तालाई सिलिन्डरमा गुज्रने मिति उल्लेख हुन्छ भन्ने ज्ञान छैन । केहीले यसतर्फ थाहा पाए पनि खासै चासो दिँदैनन् । तर, म्याद गुज्रिएका सिलिन्डरहरु बमजतिकै जोखिमयुक्त र खतरनाक हुन्छन् भन्ने उपभोक्ताले बिर्सनुहुँदैन । सिलिन्डरको म्याद हेर्ने तरिकाबारे खासै अप्ठ्यारो छैन । थोत्रा र म्याद गुज्रिएका सिलिन्डरबाट ग्यास चुहिने र आगलागी तथा बिष्फोट हुने सम्भावना हुन्छ । यस्ता जोखिमयुक्त लाखौं ग्यास सिलिन्डर अहिले धेरै उपभोक्ताको भान्सामा पुगेका छन् । त्यसैकारण हरेक सचेत उपभोक्ताले ग्यास सिलिन्डरको गुज्रने मिति हेर्न आवश्यक छ ।

सिलिण्डरको घाँटीनेर केही सांकेतिक अक्षर हुन्छन् । त्यसलाई हेरेर उपभोक्ताले ग्यास सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् । जस्तै सिलिन्डरको घाँटीमा हुने ह्यांगरमा ए, बी, सी, डीसँगै १४, १५, १६, १७, १८, १९, २०, लगायतका अंक लेखिएका हुन्छन् ।

अंकले वर्षलाई बुझाउँछ । ग्यास कम्पनीले १२ वटा महिनालाई समेटेर ३÷३ महिनामा भाग गरी ४ भागमा छुट्याएका हुन्छन् । ‘ए’ लेखिएको अंकले वर्षको पहिलो ३ महिना जनवरी, फेब्रुअरी र मार्चलाई जनाउँछ । ‘बी’ले अप्रिल, मे र जून महिनालाई जनाउँछ भने ‘सी’ले जुलाई, अगष्ट र सेप्टेम्बरलाई संकेत गर्छ । यस्तै ‘डी’ ले अक्टोबर नोभेम्बर र डिसेम्बरलाई संकेत गर्छ । यस्तै ए, बी, सी, डीसँगै हुने अंकले भने वर्षलाई जनाउँछ ।

माथिको तस्वीरको सिलिन्डरमा ए २३ लेखिएको छ । त्यो सिलिन्डरको म्याद सन् २०२३ को मार्च महिनामा एक्सपायर हुन्छ भन्ने बुझ्नुपर्दछ । अहिले ए(२०१६ सम्मका लेखिएका सिलिन्डरको मिति सकिएको हो भन्ने उपभोक्ताले जान्नुपर्छ । यस्तै बी(२०१६ लेखिएका सिलिन्डरको म्याद अब १२ महिनामात्रै बाँकी छ । किनभने जुनमिहना सकिन अब १२ दिन मात्रै बाँकी छ । म्याद सकिएका सिलिन्डर लिकेज हुने बिष्फोट हुने सम्को सम्भावना हुने विज्ञहरु बताउँछन् । यस्तै एक्सपायर्ड डेट बाँकी रहेपनि सिलिन्डरका कुनैपनि भाग कुच्चिएको र फुटेको देखे त्यो पनि प्रयोग गर्न अयोग्य हो भन्ने उपभोक्ताले बुझ्नुपर्छ ।

अन्तर्रा्ष्ट्रिय मान्यताअनुरुप सिलिन्डर पहिलोपटक बनेको मिति (म्यानुफ्याक्चर्ड डेट) बाट २० वर्षसम्म मात्र प्रयोग गर्न योग्य हुन्छ । उद्योगले सिलिन्डरमा पहिलोपटक बनेको मितिले १० वर्षसम्मको डेट राख्न पाउँछन् । त्यसपछि ५र५ वर्षमा हाइड्रोलिक टेष्ट गरेर त्यसको गुज्रने मिति परिवर्तन गर्नुपर्ने कानुनी व्यवस्था रहेको नेपाल आयल निगमका निर्देशक दीपक बरालले बताए ।

यसैका कारण नेपाली बजारमा २० वर्ष भन्दा लामो आयु काटेका लाखौं सिलिन्डर छन् । नेपालका धेरै ग्यास उद्योगले २० वर्षभन्दा पुराना सिलिन्डर त प्रयोग गरिरहेकै छन् नै, ५÷५ वर्षमा गर्नुपर्ने हाइड्रोलिक टेष्ट पनि गरेका छैनन् ।

उपभोक्ता सजग नभएको र सरकारको अनुगमन फितलो भएको फाइदा उठाउँदै उद्योगहरुले म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भर्दै बजारमा पठाइरहेका छन् ।

नाकाबन्दीबा बेलामा धादिङका उद्योगहरुमा आपूर्ति मन्त्री गणेशमान पुन आफैं पुगेर अनुगमन गर्दा यस्ता म्याद गुज्रिएका सिलिन्डरमा ग्यास भरेर बजार पठाइने गरेको भेटिएको थियो । अझ ग्यास सिलिन्डरमा नयाँ रंग पोतेर र फलामले खोपेर लेखिएका म्यानुफ्याक्चर्ड डेट मेटेर पनि बजार पठाउने गरिएको भेटिएको छ । सिलिन्डर कुच्चिएर बाहिरी आकार नबिग्रिएसम्म प्रयोग गरिरहन सक्ने जोखिमलाई नेपालको कानुनले नै संस्थागत गरेको छ ।

आपूर्ति मन्त्रालयअन्तरगत नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानबाट खटिएका शाखा अधिकृतको टोलीले केहीमिहना अघि झापामा गरेको अनुगमनमा पनि यस्ता मिति गुज्रिएका थुप्रै सिलिन्डर भेटिएका थिए । होटलमा प्रयोग भइरहेका त्यस्ता सिलिन्डर उपभोक्ताले नदिएपछि टोलीले जफत नै गर्न सकेन । बजारमा यस्ता हाइड्रोलिक टेष्ट नभएर मिति गुज्रिएका २५ प्रतिशत सिलिन्डर हुन सक्ने आयल निगमकै अधिकारी बताउँछन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment