वन कार्यालयको लापार्वहीले अवैध पशुपंक्षी कारोबार फस्टाउँदै

एविसि खबर

काठमाडौं, ३ असार । अवैधरुपमा पशुपंछि संकलन गरि विक्रिगर्ने भारतीय दलाललाई प्रहरीले समातेपनि वन कार्यालयले उन्मुक्ति दिएकै कारण धन्दा बढोत्तरी भएको छ । भारतको पटना घर बताउने मोहम्मद उसवान विहीबार काठमाडौंको रानीबारीस्थित दक्षिणकाली मन्दिर परिषरबाट समातेपछि धन्दा बढ्दै गएको पुष्टि भएको हो ।

उसवानका साथबाट प्रहरीले १ सय ९ वटा कछुवा र १ सय ६३ वटा विभिन्न जातका चराहरु जिउँदै समात्यो र चिडियाखानामालाई जिम्मा लगाएको छ । उसवान लाई प्रहरीले समातेको यो दोस्रो पटक हो । २ वर्ष पहिले ३० गते असार ०७१ सालमा समेत उनी पक्राउ परेका व्यक्ति हुन् । त्यसबेला समेत उनको साथबाट कछुवाको साटो खरायो र चराहरु ठूलो संख्यामा बरामद गरेको थियो । त्यसबेला उनलाई काठमाठौंको पानी पोखरीबाट पक्राउ गरिएको थियो ।

birds

पशुपंक्षी बेचबिखनको गैरकानूनी धन्दामा पेशेवर रुपमा संलग्न यी भारतीय अपराधीलाई त्यसबेला जिल्ला वन कार्यालय काठमाडौंमा जिम्मा लगाइएको थियो । तर, उनलाई वन कार्यालयले यसरी संरक्षण दियो कि उनले दुई वर्षको अवधिमा थप धन्दा फस्टाए । नेपालमा बसेर गैरकानूनी कार्य गरिरहेका उसवानलाई वन कार्यालयले कार्यबाही फितलो बनाउँदा यो नियती दोहोरिएको छ ।

दुई वर्ष अघि पानी पोखरीबाट पक्राउ पर्दा छोटू भन्ने उसमानका साथबाट प्रहरीले ककातिल चरा ४ वटा, फिन्च चरा ८४ वटा र बजरिजर चरा २५ वटा बरामद गरेको थियो । त्यस्तै ०७१ सालमा यी भारतीय नागरिकका साथबाट जावा चरा २ वटा, लवबर्ड ६ वटा, सुगा १० वटा, फेन्सी परेवा २८ वटा, बट्टाई १० वटा, मैना चरो एउटा, बिनियक चरा ६ वटा र खरायो ३ वटा समातिएका थिए ।

त्यसबेला आर्थिक चलखेलमा फसेका जिल्ला वन कार्यालयका कर्मचारीले उनलाई छुट दिएपछि काठमाडौंमा पुनः पुरानै व्यवसाय सुरु गरेका उनको साथबाट विहीबार प्रहरीले जिउँदो कछुवा १ सय ९ वटा, विभिन्न वातका चराहरु १ सय ६३ (बडजेरिगर, काकातिल, जाभा र सुगा) सहित पक्राउन गरेको हो ।

वन कार्यालयबाट छुटेपछि भारतीय नागरिक उसमानले रानीबारीस्थित नरेश शाहीको घर भाडामा लिए । शाही लाजिम्पाटको अर्को घरमा बस्थे । उसमानले शाहीको घरमा अवैधरुपमा कछुवा र चराहरु पाल्दै विभिन्न ठाउँमा सप्लाइ गर्न थाले । बेलाबखत घरबेटी आउँदा उसमानले घर अगाडि केही चराहरु सानो पिँजडामा राखेको देखिन्थ्यो आफूले सोखले गर्दा ती चरा पालेको उनले बताउने गरेका थिए । घरभित्र ठूलो संख्यामा पालिएका कछुवाको दुर्गन्ध बाहिरसम्म नआओस् भनेर उनले पर्फ्युम छर्कने गरेका थिए । भित्र रहेका कोठामा प्लाष्टिकका भाँडाहरुमा पानी हालेर कछुवा राखिएको थियो भने चराहरुका लागि ठूला पिँजडा राखिएको थियो । तर, विस्तारै घरबेटीले उसमानको गैरकानूनी धन्दा थाहा पाएपछि उनैले प्रहरीलाई खबर गरेका आधारमा विहीबार उसमान पक्राउ परेको स्रोतले बतायो ।

त्यसो त कुलेस्वरमा चितुवा पसेका दिन त्रिभुवन विमानस्थल छेउमा प्रहरीले १९ वटा जिउँदा कछुवा बरामद गरेको थियो । ती कछुवा उसमानकै भएको प्रहरीको अनुमान छ । समुद्र आसपास पाइने कछुवाका बच्चाहरु भारतबाट माछाका भुरासँग मिसाएर काठमाडौं भित्रयाउने गरिएको प्रहरी स्रोतको दाबी छ । त्यसरी ल्याएर पालिएका कछुवा त्रिभुवन विमानस्थलको फितलो सुरक्षा व्यवस्थालाई प्रयोग गर्दै भारतीय तस्करहरुले चीन लगायत विभिन्न देशमा महंगोमा बेच्ने गरेको प्रहरीको अनुमान छ ।

त्यसैगरी आकर्षक चरा र सुगाहरु काठमाडौंकै सौखिन घरानियाँहरुलाई उसमानले बेच्ने गरेको प्रहरीको दाबी छ । काठमाडौं उपत्यकाका विभिन्न घरहरुमा पशुपंक्षी पाल्ने गरिएको पाइएमा खबर गर्न र अपराध नियन्त्रणमा सहयोग गर्ने प्रहरीले सबैमा आग्रह गरेको छ । यसैवीच उपत्यकाका कतिपय व्यक्तिका घरमा चितुवासमेत पालिएको हुन सक्ने विज्ञहरुको अनुमान छ । बेलाबखत सहरमा भेटिने चितुवा त्यही घरपालुवा हुन सक्ने दाबी विज्ञहरुले गरेका छन् । पशु अधिकारको क्षेत्रमा काम गरिरहेका विश्वनाथ रिजालले ‘शहरमा फेला परेको चितुवा शौचालयमा लुक्न जाने र मानिसलाई आक्रमण नगर्ने प्रकृतिको हुन्छ, यसको कारण के हो भने कसैले अवैध रुपमा पाल्ने र ठूलो भएपछि मासु खुवाउन नसकेर छाडिदिने गरेको हुन सक्छ ।’ रिजालका अनुसार काठमाडौं उपत्यकामा वन्यजन्तु एवं पशु पंक्षीको अवैध व्यापार बढ्दै गइरहेको छ ।

अनलाईन खबरबाट

Facebook Comments

सम्बन्धित

Leave a Comment