जुम्लामा छुई प्रथा न्यूनीकरण अभियान

एविसि खबर
जुम्ला, १ असार । जुम्लामा नेपाल मजदुर किसान पार्टीले छुई प्रथा न्यूनीकरण गर्न सचेतना अभियान थालेको छ । सरकारी तथा गैरसरकारी निकायले निरन्तरता दिँदै आएको सो अभियान सकारात्मक भएको औँल्याउँदै ‘महिला पुरुष अघि सरौँ, छुई प्रथाको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ अगाडि बढाइएको हो । नेमकिपाले जिल्ला अध्यक्ष शिवलाल डाँगीले सचेतना अभियान नेपाल क्रान्तिकारी विद्यार्थी संघ मार्फत थालिएको बताए ।

विद्यालयमा गठन भएका संघसंगठनबाट यो बढी प्रभावकारी हुने भएकाले सोही क्षेत्रमा गएर छाउप्रथा, मानवअधिकार, सामाजिक विकास, प्रजनन स्वास्थ्य र महिला हिंसाका विषयमा जानकारी गराउन लागिएको संघका जिल्ला अध्यक्ष महेश नेपालीले जानकारी दिए । ‘हामीले जिल्लाका विभिन्न विद्यालयमा छाउप्रथाका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ, त्यसमा विशेषगरी किशोर–किशोरी समेटिएका छन्’, उनले भने । छुई प्रथाको अन्त्यका लागि किशोर–किशोरीको भूमिका के हुने भन्नेबारे बहस पनि गराइएको उनको भनाइ थियो । नेमकिपाका जुम्ला अध्यक्ष डाँगीले हरेक राजनीतिक दलले आआफ्ना कार्यकर्तामार्फत यस प्रथाको अन्त्य गर्न गाउँ गाउँमा सन्देश दिनुपर्नेमा जोड दिए ।

नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालले सामाजिक विकृतिका रूपमा रहेको छुई प्रथा अन्त्यका लागि सहकार्यको टड्कारो आवश्यक रहेको औँल्याए । उनले भने, ‘२१औँ शताब्दीमा पनि पश्चिमका मान्छे गोठ बस्नु दुर्भाग्य हो, यो प्रथा सभ्य समाज निर्माणको बाधक बनेको छ । देवता रिसाउँछन् भन्ने पितृसत्तात्मक सोचका कारण नै महिलाले दुःख भोगिरहेका छन् ।’

युवा नेता कृष्णबहादुर बुढाले छाउपडी उन्मूलन निर्देशिका सरकारले लागू गरेकाले यसको कार्यान्वयनमा सबैको समन्वयकारी भूमिका हुनुपर्ने जनाए । विशेषगरी आत्मसम्मानका लागि सहकार्य (क्याड) जुम्लाले तीन वर्षदेखि सबै क्षेत्रलाई छाउपडी कुप्रथा अन्त्यको अभियानमा लाग्न जागरण अभियान चलाएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment