शब्द, संगीत र स्वरमा खेल्ने नयाँ खेलाडी मिना

कला

माक्पाली कान्छा

काठमाडौं, ३२ जेठ । ‘बर्मा गयो कर्मसँगै, नेपाल आयो कपालसँगै’ यो नेपाली उखानले पछयाएको एक नारी प्रतिभा हुन् मिना राई । बाल्यकालदेखि नै कला क्षेत्रमा रुचि राख्ने उनी अहिले गीत, संगीतको दुनियामा संघर्षरत रहेकी छन् । कुनै बेला गाउँको देउसी भैलो, तथा विहे बटुलमा नाच्न भनेपछि हुरुक्क हुन्थिन उनी ।

खोटाङ जिल्लाको दिपलुङ १ मा जन्मेकी उनी गाउँ नजिकैको सिम्ले खोला, सावा खोलामा गीतले थर्काउँदै घाँस दाउरा गर्थिन । गाउँघरमा गोठला खेताला जाँदा समेत खुलेर गीत गाउने उनले आफ्नो रहरहरुलाई निभ्न नदिने अठोटका साथ विदेशको यात्रा समेत गर्नु प¥यो । मनमा रहेको इच्छा र चाहानाहरुकै कारणले उनी ४ वर्ष सम्म विदेश बसेर फर्किएपछि संगीतको औपचारिक विद्यार्थी बनिन् ।

sss

काठमाडौंको बसुन्धरा स्थित नयामार्गी संगीत पाठशाला उनको संगीतको कखरा गराउने ठाउँ बन्यो । गुरु थिए डक्टर किराँत । र अहिले पनि उनी उसै ठाउँमा नियमित साधना गर्दै आएकी छन् । गाउँघरमा छँदा रेडियो सुनेर प्राय तारादेविको स्वरको फ्यान रहेकी उनले ‘कालिपारे दाई कति राम्रो, सोचे जस्तो हुन्न जीवन’ जस्ता गीतहरु खुबै गाउने गरेको सुनाउँछिन् । उनलाई मन पर्ने कलाकारमा अरुणा लामापनि पर्छिन् । ‘फुलको थुंगा बगेर गयो गंगा पानीमा’ बोलको गीत उनको जीवनमा सबै भन्दा धेरै गुनगुनाएको गीत हो ।

गाउँमा सिस्नो टिप्न जाँदा होस या गाइवस्तु चराउन जाँदा उनलाई यीनै गीतहरुले साथ दिन्थ्यो र दियो । उनले सम्झिन, ‘सायद ती दिनहरुमा यी गीतहरुलाई रनवनै थर्काउने गरी नगाएको भए म गायीका बन्ने रहर पाल्ने नै थिइन होला ।’ उनी गीत गाउँछिन, शब्दपनि कोर्छिन र फिलिङस आउँदा संगीतपनि भर्छिन् । ‘गीत संगीतमा लागेको लामो समय त भाको छैन् । तर पनि संघर्ष गर्दै जाने क्रममा एउटा एल्वम निकाल्न सकेकीछु ।’ उनले भनिन् ।minana

उनको एल्बम स्कुले जीवन केही समय अगाडि आएको छ । यसका साथै फुटकर गीतहरुपनि उनले डेढ दर्जन बढी गाइसकेकी छन् । उनले ‘स्कुले जीवन’ गीती एल्वमको भिडियो समेत सबैको निर्माण गरेकी छन् । विशेष गरेर फास्टविटको गीतमा आफ्नो स्वरलाई म्याच गर्ने उनको बुझाईरहेको छ । ‘तर म सबै खालको गीतहरु गाउँछु’ उनले भनिन् ।

सुरुमा रहरै रहरमा गीत गाउने झोक पालेर यो क्षेत्रमा हात हाल्न आएकी मिनालाई अब भने डर लाग्ने गरेको बताउँछिन् । ‘रहरै रहरमा गीत गाउँदा निकै जान्ने जस्तो आफुलाई लाग्ने गरेको थियो । विस्तारै सिक्दै जाँदा त कहाँ सजिलो रहेछ र ?’ उनले सुनाईन्, ‘अझ गीतहरु बजारमा आइसकेपछि पो आफुलाई झन गाह्रो हुँदो रहेछ ।’ सुरुमा पदम खालिङ सँग ‘भोजपुर डबलि’ बोलको दोहोरीमा स्वर दिएर गायन यात्रा थालेकी उनले त्यो बेलाको रहरलाई अहिले बाध्यता र बाध्यता सँगै अब कर्तव्यको रुपमा समेत लिएको बताईन् ।

वैदेशिक रोजगारको शिलशिलामा धेरैकुराको अनुभव गरेकी उनले आफुले भोगेको विगत भने त्यति सुखद नरहेको सुनाइन् । विगत विगतै हो त्यसबाट पाठ सिक्दै वर्तमानलाई आत्मसाथ गर्नुको विकल्प नरहेको उनको बुझाई छ । गीत संगीत र शब्दमा एकसाथ खेल्न सिक्दै आएको यो क्षेत्रको नयाँ खेलाडीको रुपमा उनले आफुलाई उभ्याउने कोशिसमा रहेको बताएकी छन् । उनले सुनेकी थिइन रे ‘संघर्ष हो जीवन, जीवन संघर्ष हो, जीवन देखि थाकेर बस्छु नभन् ।’ यो गीतले उनलाई निरन्तर जोश र जाँगर दिइ रहेकाले संगीतकर्ममा जाँगरिलो भएको उनको भनाइ छ ।

सौर्य दैनिकबाट

Facebook Comments

Leave a Reply