ढिस्कोले घरपुर्दा दुइ बच्चाको मृत्यु

समाचार

एविसि खबर
ताप्लेजुङ, ३२ जेठ । अविरल वर्षाका कारण घरमाथिबाट झरेको ढिस्कोले घर पुरिँदा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् ।

मंगलबार बिहान करिब २ बजेको समयमा माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनीहरूको पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिए । उनका अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षीया सीता तामाङ र दिदी १२ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरूको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ । सीताका श्रीमान् मनकुमार तामाङ भने बैदेशिक रोजगारीमा रहेका छन् ।

यता मेची राजमार्गअन्तर्गत दोखुमा पर्ने ल्याङ्बा सडकखण्डमा माथिबाट झरेको पहिरोले बाटो अवरुद्ध भएको छ । अविरल वर्षाका कारण गएराति झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । सो पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने सवारीसाधन बिचमै अलपत्र परेका छन् । मध्य रातिदेखि ताप्लेजुङमा लगातार वर्षा भइरहेका कारण पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित भएका छन् ।

Facebook Comments

Leave a Reply