माइती नेपालद्वारा तालिमप्राप्त किशोरीको बिदाइ

समाचार

एविसि खबर

इटहरी, ३२ जेठ । माइती नेपाल परामर्श तथा पुनःस्थापना गृह, इटहरीले विभिन्न जोखिम र विभेदमा परेका अवस्थामा उद्धार गरिएका नेपालका विभिन्न जिल्लाका किशोरीलाई आत्मनिर्भरताका लागि छ महिने सीप विकास तालिम प्रदान गरेर उनीहरूलाई आआफ्नो घर परिवारमा स्थापित गराउन सोमबार बिदाइ गरेको छ । साधारण लेखपढदेखि प्लस टु उत्तीर्ण भएका १४ जना किशोरीलाई सिलाइ कटाइ, बुटिक तयारी र नेतृत्व विकाससम्बन्धी ज्ञान सीप सिकाएर उनीहरूलाई आफ्नो घर परिवारमा नै पुनःस्थापित गराउने माइती नेपालको कार्यक्रमअनुसार उनीहरूलाई दक्षतासम्बन्धी ज्ञान दिइएको हो ।

एक्काइसौँ टोलीका रुपमा रहेका यी किशोरी नौ जिल्लाका रहेका र उनीहरूले पुनःस्थापना केन्द्रमा पाएको ज्ञान र सीपलाई आफ्नो जिल्लामा पुगेर व्यवहारमा उतार्दै आय आर्जनका माध्यमका रुपमा प्रयोगमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । प्लस टु उत्तीर्ण गरेका विष्णा खत्री, प्रविना राई र इसानी तामाङले तालिममा सिकेका कुरालाई व्यावहारिक जीवनमा प्रयोगमा ल्याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

प्रवेशिका परीक्षा उत्तीर्ण गरेका कृष्णकुमारी राई, कुमारी विश्वकर्मालगायतले पनि हातमा सीप सिलाइ कटाइसँगै मजैले कुर्ता सुरुवाल, चोलो, म्याक्सीलगायतका कपडा सिलाइको सीप प्राप्त भएकाले गाउँघरमा पेसाका रुपमा यसलाई उपयोगमा ल्याउने योजना बनाएको बताएका छन् । माइती नेपालले यसअघि ३९५ जनालाई तालिम दिइसकेको र उनीहरू प्रायः सबैले कुनै न कुनै तालिमलाई जीवनोपयोगी बनाएर आयआर्जनका कार्य गरिरहेको केन्द्रकी कार्यक्रम अधिकृत सुनिता केसीले बताए ।

तालिम प्राप्त किशोरीलाई इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले तालिमको प्रमाणपत्र वितरण गर्नुहुँदै यसलाई जीवन सुधारका निम्ति प्रयोगमा ल्याउन आग्रह गरे ।

माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा मजदुर नेता ओम कोइराला, महिला नेत्री कमला खड्का, तीर्थ बन, लक्ष्मीप्रसाद सुवेदी, धर्मराज भट्टराईलगायतले बोल्नुभएको थियो । बिदाइ भएका किशोरी १८ देखि २५ वर्ष उमेर समूहका रहेका छन् ।

Facebook Comments

Leave a Reply