अपाङग महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरी पक्राउ

समाचार

एविसि खबर

कपिलवस्तु ,३१ जेठ । कपिलवस्तुको शिवराज नगरपालिका– १० बस्ने अपाङ महिलालाई बलात्कार गरेको आरोपमा सशस्त्र प्रहरीका २ जवान पक्राउ परेका छन् । आइतवार राति करिब ८ बजे थारु सामुदायकी बोल्न नसक्ने महिलालाई जबरजस्ती गरेको आरोपमा शसस्त्र प्रहरीको जवान लोकराज वस्ती पक्राउ परेका हुन् ।

सोमबार बिहान स्थानीयबासीले बलात्कारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न माग गर्दै पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका थिए । बिहान साढे ११ बजेदेखि आधा घण्टासम्म स्थानीयले सडक अबरुद्ध गरेपछि सशस्त्र प्रहरी बल विन्ध्यावासीनी गणले जवान वस्तीलाई वडा प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाएको हो । भैंसी चराउन गएकी बोल्न नसक्ने महिलालाई हात खुट्टा बाँधेर झाडीमा फाले र साँझ परेपछि सशस्त्र प्रहरीका जवानहरुले पालैपालो बलात्कार गरेको आरोप लागेको छ ।

ती महिला आइतवार दिउँसो चन्द्रौटास्थित विन्ध्यवासीनी गणको पश्चिमतिर भैंसी चराउन गएका बेला सशस्त्रका जवानहरुले समातेर हातखुट्टा बाँधेर झाडीमा फालेको र अँध्यारो भएपछि बलात्कार गरेको स्थानीयको भनाइ छ । ‘भैंसी चराउन गएकी बोल्न नसक्ने अवोध महिलालाई हात खुट्टा बाँधेर झाडीमा फाले र साँझ परेपछि सशस्त्र प्रहरीका जवानहरुले पालैपालो बलात्कार गरे,’ स्थानीय रामप्रसाद बेलबासेले भने ।

घटनास्थलमा सशस्त्र प्रहरी गेम ड्रेस एक जोर, चप्पल, फुटेका चुरा र साबुन फेला परेको थियो । घटनास्थलको प्रकृति हेर्दा सशस्त्र प्रहरीले नै बलात्कार गरेको भन्दै स्थानीयले सडक बन्द गराएका थिए । पीडित महिलालाई आइतवार राति नै स्वास्थ्य परीक्षण गराउन शिवराज अस्पताल बहादुरगन्जमा पठाइएको थियो । सोमबार विहान पनि उनको अवस्था सामान्य नभएको भन्दै चन्द्रौटास्थित सन्जीवनी सामुदायिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

सशस्त्र प्रहरी बल विन्ध्यवासीनी गणका गणपती हृदय नारायण मण्डलले आरोपीलाई प्रहरी समक्ष बुझाइएको भन्दै समाजमा नराम्रो कार्य गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्ने बताए ।

Facebook Comments

Leave a Reply