हेलिकोप्टरको भाडा तिर्न नसक्दा उद्दार समितिलाई तनाव

समाचार

संगीता राई
खोटाङ, १९ जेठ । महिना दिनअघि खोटाङको बाक्सिलामा परेको चट्याङले घाइते भएका व्यक्तिहरुलाई काठमाडौं लैजानेक्रममा प्रयोग गरिएको हेलिकोप्टरको भाडा तिर्न नसक्दा जिल्ला दैविप्रकोप उद्धार समितिलाई तनाव भएको छ । गत वैशाख–११ गते बाक्सिलामा फुटबल खेल भइरहेको समयमा परेको चट्याङका कारण घाइते बनेका १२ जना दर्शकलाई उपचारका लागि काठमाडौं लैजानेक्रममा प्रयोग गरिएको नेपाली सेनाको हेलिकोप्टरको भाडा तिर्न नसक्दा समितिलाई तनाव भएको हो ।

घाइतेलाई राजधानी पु¥याउनेक्रममा प्रयोग गरिएको नेपाली सेनाको एमआइ सेभेन्टिन हेलिकोप्टरको भाडा वापत नेपाली सेनाले ६ लाख ४४ हजारको रकम भुक्तानीका लागि जिल्ला प्रशासन कार्यालय खोटाङमा बील पठाएको छ । बाक्सिला फुटबल क्लवको आयोजनामा बाक्सिलामा सञ्चालन गरिएको बाक्सिला गोल्डकपको नवौं संस्करण अन्तरगतको प्रतियोगिता हेरीरहेको समयमा चट्याङ परेको थियो ।

दैविप्रकोप उद्धार समितिसँग हेलिकोप्टरको भाडा तिर्नका लागि रकम नभएको तथा आयोजक र घाइतेका अफन्तबाट पनि बीलमा उल्लेख भए अनुसारको रकम उठाउन गा¥हो भएको कारण तनाव सिर्जना भएको जिल्ला दैविप्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । “समस्य परेकोबेला मै पैसा तिर्छु भन्दै हेलीकोप्टर मगाएर घाइतेको ज्यान पनि जोगाइयो ।” उनले भने, “अहिले बील पठाएर भुक्तानी मागेको समयमा भाडा तिर्न नसक्दा अप्ठ्यारो भएको छ ।”

श्रोतका अनुसार मन्त्रालयका सचिवले समेत ‘आयोजक वा घाइतेले हेलिकोप्टरको भाडा नतिरे आफैले तिर्न’ भन्दै प्रजिअलाई दवाव दिने गरेका छन् । मन्त्रालयबाट पटक–पटकको ताकेतापछि मङ्गलबार बसेको जिल्ला दैविप्रकोप उद्दार समितिको बैठकमा सहभागी दलका कतिपय नेताले भने जनताले हेलिकोप्टरको भाडा तिर्न नसक्ने भएकाले राज्यकोतर्फबाट मिनाह गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रशासनमा बसेको बैठकले भाडा तिर्नका लागि केही रकम आयोजकबाट उठाउने, केही रकम घाइतेका आफन्तबाट लिनका लागि आग्रह गर्ने तथा बाँकी रकम मिनाहाका लागि गृह–मन्त्रालय समक्ष आग्रह गर्ने निर्णय गरेको छ । मन्त्रालयबाट हेलीकोप्टरको भाडा तत्काल भुक्तानी गर्न प्रजिअलाई पटक–पटक दवाव दिएपछि जिल्ला दैविप्रकोप उद्दार समितिको बैठक कसेको हो ।

स्थानीय पृथ्वी उच्च माविको पेटीमा बसेर फुटबल खेल हेरिरहेको समयमा वर्षासँगै परेको चट्याङ लागेर सप्तेश्वर–४ का ६० वर्षीय जगतबहादुर राईको घटनास्थलमै मृत्यु भएको थियो । मृतक राई जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष माइतीराज राईको बुबा थिए ।

चट्याङले घाइते भएकामध्ये भूमिका सुनुवार, मीना सुनुवार, प्रमिला विश्वकर्मा, बालध्वज श्रेष्ठ, रामकुमार राई, चुनकला सुनुवार, मेनुका विश्वकर्मा, दिलकुमारी राई, चन्द्र बस्नेत, प्रकाश श्रेष्ठ, जानुका विश्वकर्मा र उमेश राईलाई उपचारका लागि हेलीकोप्टरबाट काठमाडौं पठाइएको थियो । घाइते सबैको सफल उपचार भएको स्रोतले जनाएको छ ।

Facebook Comments

Leave a Reply