चटपटे गीत गाउँदै: यम बराल

कला

एविसि खबर
काठमाडौं, १७ जेठ । १६ वर्षअघि ‘निष्ठुरीले छाडेर गइहाली…’ बोलको गीतबाट चर्चामा पुगेका यम बरालले भर्खरै चटपटे गीत ‘टक्क मैले गाडी रोके,’ बोलको गीत गाएका छन् । त्यसबेला ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा…’ भन्दै गर्दा इलामे ठिटोले आधुनिक संगीतमा नयाँ तरंग ल्याएका थिए । दुईदशकको लामो गायनयात्रामा इलामे ठिटोले आफ्नो फरक पहिचान नै बनाएका थिए ।

उनको ‘अब चोटहरूले पिरोल्दैनन् मलाई…’ जस्ता अजम्बरी गीत गाएका यमलाई गीतसंगीतका पारखीहरू फरक ढंगले अलग पहिचानका साथ चिन्ने गरेकोमा जीवनका ओरालीउकालीहरू पारगर्दै गायनको लामो यात्रा पारगरेका यम बरालले लामो समयपछि आएर केही चटपटे अनि फरक ट्रेडमार्कको गीत बजारमा ल्याउने प्रयास गरेका हुन् ।

भर्खरै अस्ट्रेलियाको एक महिने लामो सांगीतिक यात्रापछि नेपाल फिरेका बरालले, ‘टक्क मैले गाडी रोकेँ,’ नामक चटपटे गीत बजारमा ल्याएका हुन् । उनको यो गीतमा केही रोमान्स केही चटपट अनी फरकशैली समेटिएको छ । काठमाडौंमा सुटिङ गरेको यो गीतमा उनले, काठमाडौंमा डिस्को गइयो, पिरतीमा जोकर भइयो भनेर प्रेमका नाटक गर्नेलाई तीखो वाण हानेका छन् ।

बास्तविक जीवनमा पनि केही उतारचढाव बेहोरेका यमले आफ्नो नयाँ चटपटे गीत भित्र पैसा र प्रेमलाई नियाल्ने कोसिस गरेका छन् । यमले नयाँ गीतको विषयमा सेतोपाटीसँग कुरा गर्दै भने, ‘फरक शैली र नयाँ प्रस्तुतिका रूपमा यो गीत बजारमा ल्याएको छु ।’

Facebook Comments

Leave a Reply