उन्नत बिउ बिजनका १७ करोड खर्च

एबिसि खबर
बुटवल, १७ जेठ । किसानको लागि उन्नत बिउ बिजन कार्यक्रम केन्द्रीय कार्यालय रुपन्देहीले ६ वटा जिल्लामा किसानहरूको आयआर्जन वृद्धिको लागि १७ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ । चालु आवको ७ महिनामा ८४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य लिएको कार्यालयले चालु आवको ७ महिनामा १७ करोड ९० लाख ३५ हजार रुपैयाँ खर्च गरेको हो ।

रुपन्देहीमा केन्द्रीय कार्यालय र काठमाडांैमा सम्पर्क कार्यालय रहेको उक्त कार्यालले गुल्मी, अर्घाखाँची, रोल्पा, सल्यान, रुकुमका विभिन्न १ सय ५६ वटा गाविसमा विभिन्न परियोजना अनुसार ७ महिनाको अवधिमा उक्त रकम खर्च गरेको किसानका लागि उन्नत बिउ बिजन कार्यक्रम केन्द्रीय कार्यालय रुपन्देहीले जनाएको छ ।

किसानका लागि उन्नत बिउ बिजन कार्यक्रमका आर्थिक प्रशासन शाखा प्रमुख डिलाराम लंसालले नेपाल सरकारसँगै अन्य विभिन्न दातृ सहयोगबाट सो रकम खर्च गरिएको बताए । ७ महिनाको अवधिमा नेपाल सरकारको १ करोड ८० लाख ९८ हजार, इफाडको ५ करोड ९२ लाख १० हजार, इफाड लोनको ५ करोड ९२ लाख १० हजार, हेफर इन्टरनेसनलको ३ करोड ७२ लाख १७ हजार रुपैयाँ र लाभान्वित समूह (अनुदान ग्राही)को ५२ लाख १७ हजार रुपैयाँ गरी कुल १७ करोड ९० लाख ३५ हजार रुपैयाँ खर्च गरेको उनको भनाइ छ ।

आर्थिक वर्ष ०७२÷७३ का लागि चालु खर्चतर्फ ७२ करोड २२ लाख ७३ हजार र पुँजीगततर्फ ११ करोड ९४ लाख ४१ हजार रुपैयाँ खर्च लक्ष्य भए पनि कार्यालयले ७ महिनामा पँुजीगततर्फ ३ करोड ४५ लाख ७८ हजार रुपैयाँ र चालुतर्फ १४ करोड ४४ लाख ५७ हजार रुपैयाँ खर्च भएको बताइएको छ ।

७ महिनाको अवधिमा हेर्ने हो भने कार्यालयले रकम खर्च गर्ने लक्ष्य भने पूरा नहुने देखिएको छ । ५ महिनाको अवधिमा कार्यालयले सो रकम खर्च गर्न भने सक्ने छैन ।

यता कार्यक्रम अवधिभरमा भने केही रकम खर्च हुने कार्यालयले बताएको छ । कार्यक्रमको बाँकी अवधिमा कार्यक्रमबाट भौतिक पूर्वाधार निर्माण, कृषि तथा पशु नश्ल सुधारका बस्तु तथा सामानहरू र मेसिन औजारहरूको ठेक्कापट्टा भई काम अगाडि बढिरहेको बताएको छ । सो कार्य अगाडि बढेको र कार्यक्रमसँग सम्झौता भएका १ सय ४० वटा अनुदान ग्राहीलाई अनुदान भुक्तानी दिने क्रम जारी रहेकाले अधिकांश रकम खर्च हुने भएता पनि विनियोजित बजेटको लक्ष्य अनुसार खर्च नहुने भएको हो ।

कतिपय कार्यक्रम ढिला सुरु हुने, कार्यक्रम कार्यान्वयनका साझेदारी संस्थाहरू कृषि उद्यान केन्द्र, साना किसान विकास बैंक, नेपाल कृृषि सहकारी केन्द्रीय संघ, नेपाल कृषि अनुसन्धान परिषद्बाट सञ्चालन हुने कार्यक्रमहरू तोकिएको लक्ष्य अनुसार सम्पन्न भई खर्च नहुँदा समग्र आयोजनाको लक्ष्य अनुसारको रकम खर्च नहुने देखिएको आर्थिक शाखाप्रमुख लम्सालले बताए ।

यता कार्यालयले चालु आवमा करिब ३ करोड ३० लाख रुपैयाँको लागतमा विभिन्न जिल्लामा ७ वटा कृषि तथा पशु सेवा केन्द्रसमेत निर्माण भएका छन् । गत आवमा निर्माणधिन अवस्थामा रहेको योजना तथा चालु आवमा थप गरिएका सेवाकेन्द्रहरू निर्माणका लागि सो रकम खर्च गरी कृषि तथा पशु सेवा केन्द्र निर्माण गरिएको बताएको छ ।

अर्घाखाँचीको हंसपुर, प्युठानको मच्छी, रुकुमको मुसिकोट नगरपालिका, रोल्पाका जावलीपोखरी, इवान, रुकुमको चौरघारी र कञ्चनपुरको सुन्दरपुरमा कृषि तथा पशु सेवा केन्द्र निर्माण भएको लम्सालले बताए । सो सेवा केन्द्र निर्माणपछि किसानहरू बढीभन्दाबढी लाभान्वित हुने बताइएको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment