बेमौसमी गोलभेँडा खेतीसम्बन्धी वृत्तचित्र सार्वजनिक

समाचार

एविसि खबर
खोटाङ, १७ जेठ । खोटाङ कृषि फार्मले निर्माण गरेको बेमौसमी गोलभेँडा खेतीसम्बन्धी वृत्तचित्र सार्वजनिक गरिएको छ । दिक्तेल नगरपालिका–५ सोल्मामा रहेको कृषि फार्मले ३ वर्ष लगाएर निर्माण गरेको गोलभेँडा खेतीसम्बन्धी वृत्तचित्र आइतबार सार्वजनिक गरिएको हो ।

तालिम र अध्ययनको सट्टा किसानलाई वृत्तचित्रबाटै बेमौसमी गोलभेँडा खेतीका विषयमा जानकारी दिने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको फार्मका प्रबन्ध निर्देशक तथा निर्माता गंगाबहादुर विश्वकर्माले बताए । वृत्तचित्रमा बेमौसमी गोलभेँडा रोप्ने तरिका, थाँक्रा दिने तरिका, गोडमेल गर्ने, विषादी हाल्ने, फल टिप्ने, भण्डारण गर्ने र बजार लैजानेसम्मका विधि र सीपको दृश्य हेर्न सकिन्छ ।

वृत्तचित्रलाई कृषिसम्बन्धी बनेको जिल्लाकै पहिलो मानिएको जिल्ला कृषि विकास समितिले जनाएको छ । बृत्तचित्र वर्षको असारदेखि मंसिरकोबीचमा उत्पादन गरिने गोलभेँडा खेतीमा केन्द्रित छ । जिल्लामा बेमौसमी गोलभेँडा खेतीको सम्भावना र यसप्रति कृषकको बढ्दो मोहलाई मध्यनजर गर्दै वृत्तचित्र निर्माण गरिएको विश्वकर्माले बताए । उनले भने, ‘तरकारी तथा नगदेबालीकारूपमा लिइने गोलभेँडाले बजारमा राम्रो मूल्य पाउने गरेको छ । कृषि तथा कृषि सम्बद्ध संघसंस्थाले पनि यसैलाई प्राथमिकता दिएका कारण वृत्तचित्रमा उतार्ने प्रयास गरिएको हो ।’ २३ मिनेट २० सेकेन्ड लामो वृत्तचित्रमा जिल्लाका विभिन्न कृषि फर्ममा गरिएको खेतीसम्बन्धी दृश्यलाई समेटिएको छ । वृत्तचित्र किरात मिडिया एन्ड कम्युनिकेसन प्रालि चाबहिल काठमाडौंले बजारमा ल्याएको हो । आमकृषकहरूलाई व्यावसायिक बनाउन यो डकुमेन्ट्रीले सहयोग पुग्ने देखेर यसलाई बजार प्रर्वद्वन खोजिएको कम्युनिकेसन प्रालिका सञ्चालक फणिन्द्र राईले बताए ।

वृत्तचित्र किसानका लागि पाठशालासरह उपयोगी हुने कार्यक्रममा सहभागीले बताएका छन् । फार्मले कन्ये च्याउको खेतीसम्बन्धी अर्को वृत्तचित्र तयार गर्ने जनाएको छ ।

Facebook Comments

Leave a Reply