किरणको ‘कथा काठमाडौंको’ एल्बम विमोचन

कला

काठमाडौं । किरण भुजेलले पहिलो एल्बम ‘कथा काठमाडौँको’ को शनिबार विमोचन भएको छ । प्रज्ञा प्रतिष्ठानको सभा हलमा भएको कार्यक्रममा डा.कृष्णहरि बराल एल्बमको विमोचन गरेका हुन् ।

उक्त विमोचन कार्यक्रममा बराललगायत शास्त्रीय गायक तथा संगीतकार शिवराज पौडेल, वरिष्ठ लेखक तथा सम्पादक उद्धव कुमार घिमिरे, वरिष्ठ हास्यव्यंग्य गीतकार डम्वर विकेल, कलाकार तथा लेखक जीवनराज दाहाललगायतले शुभकामना मन्तव्य दिएका थिए । ७ वटा गीत रहेको उक्त एल्बममा ‘कथा काठमाडौंको’ याद आउँदा, अँगालोमा बाँधिदिन, बसेउ मेरो, अटल यो सगरमाथा, जुनेली यो रातमा र भरे राती सपनीमा’ जस्ता माया प्रेम र देशभक्ती भावका गीतहरू समेटिएका छन् ।

शिवराज पौडेल, सरन जोशी, किरण भुजेल र बबीराज घतानीको संगीत रहेको एल्बममा दीपक सिलवाल, रोशन भुजेल, कुमार विवाहित, किरण भुजेल र दिनेश न्यौपानेको शब्द रहेको छ । एल्बमको सबै गीतमा गायक किरण भुजेलको सोलो स्वर रहेको छ ।

खोजी प्रतिभाको सिजन–२ बाट नेपाली सांगीतिक आकाशमा उदाएका युवा गायक किरण भुजेल ०६६ सालमा काठमाडौं छिरेपछि गायन क्षेत्रमा गरेको संघर्ष र भोगेको सुखदुःखबाट नै एल्बमको नाम ‘कथा काठमाडौंको’ राखेको उनले बताए । उनी भुजेल भाषामा गीत गाउने प्रथम गायकसमेत हुन् ।

Facebook Comments

Leave a Reply