हराउँदै म्याग्दीको ढुंगेघर

एविसि खबर
म्याग्दी, १६ जेठ । म्याग्दीका ग्रामीण क्षेत्रमा ढुंगाले छाएका चिटिक्क परेका घरहरु विस्तारै हराउँदै जान थालेको छ । जस्तापाता र कंक्रिटको बढ्दो प्रयोगका कारण त्यस्ता घरहरु संकटमा पर्दै जान थालेको हो ।

केही समयअघिसम्म गाउँमा प्रशस्त मात्रामा देख्न पाइने चिटिक्क परेका ढुंगेघर अहिले देख्नै छाडिएका छन् । वातावरणीय र स्वास्थ्यको दृष्टिकोणले समेत उपयोगी मानिने ढुंगेघरका ठाउँमा अहिले कंक्रिट र जस्तापाताको प्रयोग गरी घर निर्माण गर्न थालिएपछि ढुंगेघर ओझेलमा पर्दै जान थालेको स्थानीयवासीले बताएका छन् ।

म्याग्दीका मुना, मुदी, गुर्जा, लुलाङ, हिस्तान, चिमखोला, दाना लगायत गाउँमा प्रशस्त मात्रामा देखिने ढुङ्गेघर पछिल्लो समयमा कम हुँदै गएको चिमखोलाका कप्रसाद थापाले बताए । उनले भने, ‘ग्रामीण क्षेत्रमा पनि यातायातका पहुँच पुगेसँगै आयातीत जस्तापाता र कंक्रिटको प्रयोग बढ्दै जाँदा परम्परागत ढुङ्गाले छाएका घर कम हुँदै गएका छन् ।’

‘लाहुरेको जिल्ला’ म्याग्दीमा विप्रेषणका कारण ग्रामीण आय बढ्दै जान थालेपछि गाउँले पनि भौतिक विलासिताको चिजप्रति बढी आकर्षित हुन थालेको र जिल्लाका गाउँ गाउँमा पनि पक्कीघर निर्माणको क्रम बढेको पश्चिमाञ्चल फाइनान्स कम्पनीका प्रबन्धक गणेश पौडेलले बताए । उनका अनुसार वार्षिक चार अर्बभन्दा बढी विप्रेषण म्याग्दीमा भित्रिन्छ ।

केही वर्षअघिसम्म ढुंगाको छानो भएको घरलाई धनी मानिसको घर भनेर चिनिने गरेकामा अहिले आएर सो परिचयको परिभाषामा समेत परिवर्तन आएको छ । गाउँमा ढलान गरेका पक्की घर भएका व्यक्तिलाई धनीमानी र सम्पन्न मान्न थालिएको स्थानीयवासीको भनाइ छ । कंक्रिट र जस्ताका घर निर्माण गर्ने क्रम बढ्दै गएपछि ग्रामीण सौन्दर्य पनि कम हुँदै जान थालेको स्थानीयवासीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here