उत्कृष्ट प्रदर्शन गरेका पत्रकार फेरी हारे

संगीता राई
खोटाङ, जेठ–१४, मैत्रीपुर्ण फुटबल प्रतियोगितामा पत्रकार महासंघ खोटाङले सुधारिएको खेल प्रस्तुत गरे पनि कर्मचारीसामु फेरि पराजीत बनेका छन् । गणतन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित प्रतियोगितामा खेल अवधीभर नै कर्मचारीलाई दबाबमा राखे पनि पत्रकार टीमले गोल गर्न नसक्दा २–० को हार ब्यहोरेको हो । यसअघि, गत बैशाख २५ गते राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा ११–१ को बिशाल गोल अन्तरले पराजीत पत्रकार महासंघले यस पटक मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै कर्मचारीलाई दबाबमा राखेका थिए ।

सदरमुकामस्थित माटिकोरे खेल मैदानमा जारी मैत्रीपुर्ण प्रतियोगिताको पहिलो खेलमा कर्मचारीलाई गोल गर्ने थुप्रै अवसर प्राप्त गरे पनि गोललाई सही दिशा दिन नसक्दा पत्रकार जीतबाट चुकेका थिए । खेल सुरु भएको पहिलो मिनेटमै कर्मचारीले गोल गर्दै अग्रता लिएका थिए । पहिलो हाफ हुन अगाडी नै पत्रकारका गोलकिपर बल समाएर पोष्टभित्र पसेपछि रेफ्रीले गोल घोषणा गरेका थिए । महासंघका अध्यक्ष दमन राई लगायतका पदाधिकारी, जेष्ठ पत्रकार कृष्ण आचार्य, डम्बरसिं राई, लगायत जिल्लामा क्रियाशील पत्रकारहरु बिरुद्घ कर्मचारीको तर्फबाट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की , शेर गणका गणपति मदन न्यौपाने तथा नेपाली सेनाका खेलाडीहरु, डीएसपी बिदानन्द माझी, जिल्ला अस्पतालका डाक्टर टंक कार्की लगायत मैदानमा उत्रिएका थिए ।

यस्तै, राजनीतिक दल र उद्योग बाणिज्य संघबीच भएको दोश्रो खेलमा उद्योग बाणिज्यले ५–२ गोल अन्तरले दललाई पराजीत गरेका छन् । जिल्ला कार्य समितिभित्रका खेलाडी मात्र खेल्न पाउने भनिए पनि दुवैतर्फका अधिकांश खेलाडी कार्य समिति बाहिरका थिए । कर्मचारी र बाणिज्य संघबीच हुने फाईनल खेल भने शनिबार दिउँसो २ बजे सोही मैदानमा हुने जनाईएको छ । जिल्लामा प्रभातफेरि, परिसंबाद लगायतका बिबिध कार्यक्रम गरी शुक्रबारदेखि आईतबारसम्म गणतन्त्र दिवस मनाईंने छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment