प्राचीन लिपि जोगाउ

एविसि खबर
काठमाडौं, १३ जेठ । नेपालका प्राचीन लिपिलाई संरक्षण गरिनुपर्नेमा जोड दिइएको छ । अक्षर सदनको आयोजना तथा नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल संस्कृत विश्वविद्यालयको सहआयोजनामा सम्पन्न ‘नेपालका केही लिपि स्थिति, समस्या र समाधान’ विषयको प्रथम राष्ट्रिय अक्षर गोष्ठीमा प्रा डा चूडामणि बन्धुले ‘लिपिसम्बन्धी आधार पत्र’, प्रा डा माधवप्रसाद पोखरेलले ‘देवनागरी लिपि’, काशीनाथ तमोटले ‘रञ्जना लिपि’, वैरागी काइँलाले ‘श्रीजंगा लिपि’, प्रा डा दानराज रेग्मीले ‘रोमन लिपि’, अमृत योञ्जनले ‘सम्भोटा लिपि’, र अलाउद्दिन अन्सारी फलाहीले ‘उर्दू लिपि’बारेको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले लिपि प्राचीन सामग्री अध्ययनको साँचो भएकाले यसको संरक्षण गरिनुपर्ने बताए । “लिपिबिना पुराना सामग्री पढ्न सकिन्न, पुराना सामग्री धेरै भएकाले तिनको ज्ञानप्राप्तिका लागि पनि लिपिको आवश्यकता छ”– उनले भने । कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइराला, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभु घिमिरे र सदस्य सचिव प्रा डा जीवेन्द्रदेव गिरी, संस्कृतिविद् तुलसी दिवस र भीमनारायण रेग्मीलगायतले बहुलिपिको संरक्षण गरिनुपर्नेमा जोड दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment