‘थिबिया चराको गीत’लाई सर्वोत्कृष्ट साहित्यिक कृति पुरस्कार

समाचार

संगीता राई
खोटाङ, ९ जेठ । टेम्के तुवाचुङ प्रतिष्ठानले कबिता संग्रह ‘थिबिया चराको गीत’ लाई सर्बोत्कृष्ट साहित्यिक कृतिको रुपमा पुरस्कृत गरेको छ । प्रतिष्ठानले २०७१ सालमा प्रकाशित कबिता संग्रह ‘थिबिया चराको गीत’लाई सर्बोत्कृष्ट साहित्यिक कृतिको रुपमा छान्दै लेखक चन्द्र रानोहँछालाई सर्वोत्कृष्ट साहित्यिक पुरस्कार प्रदान गरेको छ ।

आईतबार खोटाङको दिक्तेलमा एक बिशेष साहित्यिक तथा संगीतिक कार्यक्रमको आयोजना गरी साहित्यकार रानोहँछालाई साहित्यकार जसराज किराती र उपेन्द्र सुब्बाको बाहुलीबाट नगद ११ हजार १ सय ११ रुपैयाँ राशीको सर्वोत्कृष्ट साहित्यिक पुरस्कार प्रदान गरिएको हो । पुरस्कारका लागि प्राप्त जिल्ला तथा जिल्ला बाहिर रहने चारजना खोटाङ्गेका साहित्यिक कृतिमध्ये ‘थिबिया चराको गीत’ कबिता संग्रहका लेखक रानोहँछालाई सर्वोत्कृष्ट रचनाकारको रुपमा पुरस्कृत गरिएको प्रतिष्ठानका अध्यक्ष भोगेन एक्लेले जानकारी दिनुभयो । पुरस्कारका लागि ‘बहुलाही आमा र सुनौलो सपना’ कथा संग्रहका कथाकार कृष्णश्री राई, ‘भेटिएको डायरी’ उपन्यासका उपन्यासकार गोपालचन्द्र राई र ‘नपुङ्सक स्वर्गको बिरुद्ध आगो’ कविता संग्रहका कवि सोनाम किरातीको आवेदन परेको थियो । खोटाङका श्रष्टाद्वारा लेखिएका २०७१ र ७२ सालमा प्रकाशित एक सर्बोत्कृष्ट कृतिलाई पुरस्कार प्रदान गर्ने गरी कृति सम्प्रेषणका लागि आब्हान गरिएको थियो । साहित्यकार जसराज किरातीको संयोजकत्वमा गठित बेदीकुमार राई र यादेबी ढकालको तीन सदस्यीय छनौट समितिले कृति छनौट गरेका थिए । यसअघि पनि बिभिन्न पुरस्कारबाट पुरस्कृत साहित्यकार चन्द्रको २०६७ सलमा ‘मनमा आँधी चलेपछि’ गीत तथा कबिता संग्रह, २०६८ सालमा ‘भाउजु लडेको भीर’ कथा संग्रह प्रकाशन भईसकेका छन् ।

आगामी वर्षहरुमा भाषा, कला, साहित्य, गीत लगायतमा प्रकाशित कृतिका लेखकमध्ये सर्वोत्कृष्ट कृतिका लेखकलाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । हरेक वर्ष विभिन्न विद्यामा पुरस्कृत गर्दै जाने उद्देश्यका साथ प्रतिष्ठानले अक्षय कोष खडा गरेको छ ।

दिक्तेलस्थित समिक्षालय भवनमा गरिएको कार्यक्रममा जिल्ला तथा जिल्ला बाहिरका साहित्यिक श्रष्टा÷सर्जकले आ–आफ्नो कला प्रस्तुत गरेका थिए । काठमाण्डौबाट आएका ‘अलग अभियान’का टोलीले प्रस्तुत गरेका साहित्यिक तथा बादबादनसहितका संगीतिक प्रस्तुतिले कार्यक्रमलाई बिशेष बनाएको थियो । गत बर्ष पनि काठमाण्डौबाट जिल्ला आई बिशेष प्रस्तुति दिएका अलग अभियानले खोटाङमा दोश्रो श्रृंखलाको रुपमा प्रस्तुति दिन आएका हुन् । संयोजक कबि नाकिमा नाकिम, साङकेन बान्तावा, गायिका बबिना किराती, बाँसुरी बाद्यक पावल थुलुङलगायतका टोली शनिबार दिक्तेल आएका थिए । कार्यक्रममा साहित्यकार जसराज किराती, उपेन्द्र सुब्बा, गायिका आभा मुकारुङ , गायक तथा संगीतकार मण्डल साम्पाङ, पृथी जिम्बा, भिमसेना राई, रेवत राई, सागर संसार राई, लगायतको विशेष प्रस्तुती रहेको थियो । जिल्लामा रहेका साहित्यकार तथा गीतसंगीतकर्मी लगायतका ठुलो उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ ।

Facebook Comments

Leave a Reply