सन्दर्भ : साकेला चाडको

चालीसको दशकदेखि नेपाली समाजले परिवर्तनको फड्को मारेको हो । यो नेपाली जनताहरुको संघर्ष र वलिदानको उपलब्धि हो । तर, त्यसको प्रत्यानुभूति अझै पाउन सकिएको छैन । राज्य संचालनका अगुवाहरुले यसलाई परिवर्तनको उपलब्धि ठानेर अनुकरण गरे । तर, उपलब्धि बिहीन । यसले नेपाली  जनताहरुमा निराशा जन्मायो । यसको प्रमुख कारण करणी र कथनीमा तात्विक भिन्नता हो । यो नेपालीहरुको निम्ति अभिशाप भयो । यसबाट अछुत भएन, हाम्रो संस्कृति र प्रवृत्तिहरु ।
नेपाली सांस्कृतिक निधिहरुमा हिजोका दरबारिया दलालहरुकै समानान्तर रुपमा हालका राजनैतिक दलहरुको हाबी छ । साकेवा, स्याँदर, लाखे जस्ता कुनै चाडपर्वहरुलाई हिजोका नेताहरुले दरबारमा लगेर माननीय, सांसद, मन्त्री हुने प्रवृत्तिहरु आज पनि राजनीतिककर्मीहरुमा कायम नै छ ।
पुर्खाहरुले आर्जेको सांस्कृतिक निधिलाई समाज परिवर्तनसँगै वस्तुगत र व्यवहारिक पक्षहरुको मूल्यांकन हुनुपर्छ । त्यसको सहजीकरण र वैज्ञानिकरणतिर लानुपर्छ । तर, त्यो कार्य हुन सकेन । बरु, लाटाको धोती बनाए, राजनीतिज्ञ अग्रजहरुले । जून लज्जास्पद मात्र होइन, खेदको विषय पनि हो । अझै, त्यस्ता संस्कृतिअहरुलाई कुनै राजनैतिक पार्टीको झण्डा र गुट–उपगुटको ढालको रुपमा प्रयोग भए, गरिए ।
संस्कृति कुनै दर्शन, मूल्य, मान्यता आदि भन्दा निरपेक्ष हुन्न । यसको उत्पति र विकास कुनै पनि वस्तुनिष्ठ अवस्थाबाटै हुन्छ । तर यसको वैज्ञानिक पक्षलाई पनि केलाउनुपर्छ । यसको उन्नतिको लागि गुट, उपगुट, स्वार्थ आदि त्याग्नुपर्छ ।
कुनै पनि सांस्कृतिक चाडपर्वहरु वा मान्यताहरु समयसँगै परिवर्तन हुनेमा दुई मत छैन । तर, ती  परिवर्तनहरु सकारात्मक हुनुपर्छ । महत्वपूर्ण चाडपर्वहरु वा मान्यताहरु व्यवहारिक हुनुपर्छ, नत्र त्यस्ता सांस्कृतिक धरोहरको अन्त्यसँग आफ्नो पहिचानबाट विमुख हुनेछौँ । त्यसको लागि साकेवा जस्तो कैयौं सांस्कृतिक चाडपर्वहरुको शोध अध्ययन आवश्यक छ । साकेवालाई सतही रुपमा बाली पूजा, माटोको पूजा आदिआदि हो । यसकोे महत्व, ऐतिहासिक मञ्जिलहरु, खम्बू समाजलाई दिएको मार्ग निर्देशनहरुको बारेमा गहन रुपमा चिन्तन मनन हुनुपर्छ । यो राज्य सत्तासँग जोडिएको छ । सचेत खम्बू समाज र यिनले मागेको राज्यसत्तामा सहभागिताको विषयसँग केही मेल खान्छ ।
साकेवाको उत्पति एउटा दोलो (श्रीपेज) अर्थात् राज्इसँग सम्बन्ध छ । जसको प्रतिकात्मक रुपमा “दोलो कुम्मा दो, सैसैला” भनेर साकेवा गीतमा गाइन्छ, पारुसिलीमा युद्धको अभिनय गरिन्छ ।
यी पक्षहरु खम्बूहरुको राज्य सत्तासँग सम्बन्ध रहेका सांस्कृतिक इतिहासहरु हुन् । यसले इतिहासलाई वर्तमानसँग जोड्छ । तर, यसलाई सतही व्याख्या, व्यक्तिगत पद र प्रतिष्ठाको सौदाबाजी वा कोसेली बनाएर उपहास गरिँदैछ । आइन्दा यस्तो भूल नगरौँ । यो खुम्बूहरुको अमूल्य सम्पत्ति हो । संस्कृति हो, सभ्यता हो, एकता हो, इतिहास हो, मार्गदर्शन हो । त्यसको संस्थागत, संरक्षण र विकास हुनुपर्छ । तर त्यो हुन सकेका छैनन् । यो दुःखको कुरा हो । सिर्जनशीलता विनाको सक्रियताले विध्वंश निम्त्याउँछ, सबैलाई चेतना भया ।
– नवराज वर्तमान
(खम्बुवान पत्रबाट सभार )
Facebook Comments

सम्बन्धित

Leave a Comment