खोटाङ खुला दिसामुक्त जिल्ला घोषित

संगीता राई
खोटाङ,  ८ जेठ । खोटाङ जिल्ला खुला दिसामुक्त जिल्ला घोषित भएको छ । सन् २०१७ सम्म नेपाललाई नै खुला दिसामुक्त बनाउने सरकारको अभियान अनुरुप खोटाङलाई शुक्रबार खुला दिसामुक्त जिल्ला घोषणा गरिएको हो ।

एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका सबै गाविस तथा नगरपालिका खुला दिसामुक्त भएपछि शुक्रबार खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले जिल्लालाई नै खुला दिसामुक्त जिल्ला घोषणा गरेका छन् । पञ्चेबाजा तथा विभिन्न जातजातिको साँस्कृतिक झाँकीसहितको ¥यालीले दिक्तेल बजार परिक्रमा गरेपछि स्थानीय हेलिप्याडमा घोषणा सभाको आयोजना गरिएको थियो ।

साँस्कृतिक प्रस्तुतीसमेत रहेको खुला दिसामुक्त घोषणा कार्यक्रममा जिल्लावासीको उल्लासमय उपस्थिति रहेपनि एक्कासी परेको भारी वर्षाका कारण कार्यक्रमलाई खल्लो बनाएको छ । प्रमुख अतिथि मन्त्री सिंहले घोषण गरेपछि केही अतिथिले मन्तव्य राख्दा राख्दै भारी बर्षा आएर मञ्च नै भताभुङग बनाएपछि सभा आफै सकिएको छ ।

घोषणासभामा व्यवस्थापिका सांसदहरु सरस्वती बजिमय, विशाल भट्टराई र पाँचकर्ण राई, खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक मनोज घिमिरे, क्षेत्रीय निर्देशक एवम् आरवाससीसीका सदस्य सचिव शंकरप्रसाद जैसवाल लगायतको उपस्थिति रहेको खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालय संयोजकक धनप्रसाद गिरीले जानकारी दिए । घोषणासभा कार्यक्रममा छिमेकी जिल्ला उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु र भोजपुरका स्थानीय विकास अधिकारी लगायतलाई निम्त्याइएको थियो ।

‘एक घर एक चर्पी नजिकैमा धारा, खुला दिसामुक्त खोटाङ बनाउन लागी परौं सारा !’ भन्ने नाराका साथ जिल्लावासी खुला दिसामुक्त अभियानमा जुटेका थिए । जिल्लाका कतिपय स्थानीयले ऋण काढेर चर्पी निर्माण गरेका छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment