शहरमा जामै जाम

समाज

एविसि खबर
काठमाडौं, ७ जेठ । मान्छे धेरै, बाटो साँघुरो, सवारी साधन धेरै, ट्राफिक व्यवस्थापन कमजोर भएपछि काठमाडौंमा यो बेला जामै जाम हुन थालेको छ । काठमाडौं उपत्यकाका मुख्य चोकमा ट्राफिक जाम हुने गरेको हो । उपत्यकामा धेरै सवारीसाधन र सडक साँघुरो हुँदा धेरै जाम पर्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले बताउँछन् । उनले भने, ‘काठमाडौं उपत्यकामा ८ लाख ५० हजारभन्दा बढी सवारीसाधन रहेको र एक हजार ५सय किलोमिटर मात्र सडक भएकाले धेरै जाम पर्ने गरेको हो ।’ काठमाडौं उपत्यकाको त्रिपुरेश्वर, कालीमाटी, भोटेबहाल, थापाथली, माइतीघर, कलङ्की, जमल, केशरमहल, खानी विभाग, सोह्रखुट्टे, बालाजु, चावहिल, ग्वार्को, कोटेश्वर, जडीबुटी लगायतका चोकमा धेरै ट्राफिक जाम हुने गरेको पाख्रिनले बताए । उनले यी चोकमा एउटा सवारीसाधनले कम्तीमा पाँचदेखि सात मिनेट रोकिनुपर्ने बताए ।

यस्तै, बर्खायाममा उपत्यकाका अधिकांश सडकमा पानी जम्ने हुनाले अझ धेरै जाम हुने गरेको छ । तीनकुने, त्रिपुरेश्वर, जमल, केशरमहल लगायतका चोकमा पानी निकास गर्ने स्थान नहुँदा सानो पानी पर्दासमेत पोखरी हुने गरेको छ ।

यस्तै, नयाँबानेश्वर चोकमा आकाशे पुल नहुँदा मानिसले सडकबाटै बाटो काट्दासमेत जाम हुने गरेको महाशाखाले जनाएको छ । यसरी उपत्यकामा दिनानुदिन जाम बढ्दै गए पनि यसलाई न्यूनीकरण कसरी गर्ने भन्नेमा ट्राफिक प्रहरी अन्योलमा छ । महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक बस्नेत सडक जाम कम गर्न पूर्वाधार निर्माणका लागि सडक विभाग र नगरपालिकासँग छलफल चलाइरहेको बताउँछन् । उपत्यकामा ट्राफिक जनशक्ति कम र विशिष्ट व्यक्तिको आवागमन हुँदा सवारी जाममा थप समस्या पर्ने गरेको छ । उपत्यकामा दुई हजारभन्दा बढी ट्राफिक जनशक्ति हुनुपर्नेमा हाल १ हजार २ सय जनशक्ति रहेको छ

Facebook Comments

Leave a Reply