किर्ते गर्ने डाक्टर धरौटीमा रिहा

एविसि खबर
पाँचथर, ७ जेठ । सरकारी छाप दस्तखत कीर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका डाक्टर तारा पोख्रेललाई जिल्ला अदालतले धरौटीमा रिहा गरेको छ । उनले विसं ०५२ देखि ०५६ सालसम्म पाँचथर अस्पताल प्रमुखको जिम्मेवारी सम्हालेका थिए । उनलाई जिल्ला अदालत पाँचथरले २७ हजार रुपैयाँ धरौटी मागेर तारेखमा रिहा गरेको हो ।

पाँचथर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार श्रेष्ठको इजलासले उनलाई २७ हजार रुपैयाँ धरौटी माग गरेको थियो । मागअनुसारको धरौटी दाखिला गरेर पोख्रेल तारेखमा रिहा भएका छन् । २० वर्ष पहिले दर्ता भई मुल्तवीमा रहेको मुद्दालाई अनुसन्धान गर्न भन्दै पाँचथर प्रहरीले जिल्ला अस्पतालका तत्कालीन डाक्टर पोख्रेललाई गत शुक्रबार पक्राउ गरेको थियो । डाक्टर पोखरेलले यसअघि नेपाल सरकारको स्वास्थ मन्त्रालयअन्तर्गत स्वास्थ सेवा विभागको बालरोग महाशाखा तथा विपद् व्यवस्थापन महाशाखा प्रमुखसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।

पाँचथर अस्पताल प्रमुखको जिम्मेवारीमा रहँदा सरकारी छाप दस्तखत कीर्ते गरेको भन्दै औषधि व्यवसायी वसन्त पाण्डेले पोख्रेलविरुद्ध मुद्दा दर्ता गराएका थिए । डाक्टर पोख्रेल पाँचथर अस्पतालको प्रमुख हुनुपूर्व पाण्डेले अनिरुद्र सहकारीमार्फत अस्पताल परिसरभित्रै औषधि पसल सञ्चालन गर्दै आएका थिए । अस्पताल परिसरमा निजी पसल राख्न नपाइने आवाज उठेपछि पोखरेलले पाण्डेलाई पसल हटाउन भने पनि उनले अटेर गरेपछि अस्पताल विकास समितिको निर्णयबाट सो पसल बन्द गराइएको थियो ।

औषधि पसल बन्द गराइएपछि पाण्डेले पुनः मन्त्रालयबाट अस्पताल परिसरमा पसल सञ्चालन गर्न दिनु भन्ने आशयको पत्र लेखाएर पुनः पसल सञ्चालन गर्न पहल गरेका थिए । अस्पताल विकास समितिले आफ्नो निर्णय सच्याउन नचाहेपछि पाण्डेले पाँचथर जिल्ला अस्पतालका तत्कालीन डाक्टर पोख्रेललाई विपक्षी बनाएर अदालतमा मुद्दा दर्ता गराए । अदालतले मुद्दाको सुनुवाइका क्रममा अस्पतालसँग प्रमाण मागेपछि डाक्टर पोख्रेलले अस्पताल विकास समितिको निर्णय र विभागबाट प्राप्त पत्र अदालतमा पेस गरेका थिए । सोही कागजातमा सरकारी छाप र दस्तखत कीर्ते गरेको भन्दै पाण्डेले पुनः अर्को मुद्दा दर्ता गरेका थिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment