सिंगापुरबाट करातेलाई पैसा

एविसि खबर

खोटाङ ७ जेठ । जिल्लाको खेलकुदको विकासमा योगदान पु¥याउने उद्देश्यका साथ सिंगापुर स्थित एक संस्थाले कराते प्रतियोगिताका लागि पैसा पठाएको छ । जिल्लामा सञ्चालन हुन लागेको अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगिता’का लागि सिंगापुरबाट १ लाख ४० हजार रुपैयाँ सहयोग पठाएको हो । आगामी जेठ–२० गतेदेखि २२ गतेसम्म दिक्तेलमा ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता’ सञ्चालन हुन लागेको छ ।

खोटाङ र भोजपुरका सिंगापुर प्रहरीको साझासंस्था ट्याम्के छायाँ परिवारले प्रतियोगिता सञ्चालनका लागि आर्थिक सहयोग उपलब्ध गराएको आयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए । खोटाङको रतन्छा घर भइ हाल काठमाडौंमा व्यवसाय गर्दै आउनुभएका परिवर्तन किरातीको पहल एवम् हाल सिंगापुरमा रहेका ट्याम्के छायाँ परिवारका रितुवर्तन राईले सहयोग रकम संकलन गरेका हुन् । कराते प्रतियोगिताका लागि सिंगापुरमा सहयोग संकलन गर्ने सिंगापुर प्रहरीमा कार्यरत रितुवर्तन सितोरियोका पूर्वखेलाडी एवम् वर्तमान क्यूकोसिन कराँतेका एसियन पदक विजेता हुन् । ट्याम्के छायाँ परिवारले प्रतियोगिताको सफलता र आशिर्वाद स्वरुप सहयोग गरेको संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय कराते प्रतियोगिताका लागि शुभेच्छुकबाट आर्थिक सहयोग जुट्नेक्रम जारी रहेको आयोजकले जनाएको छ । खेल संस्कृतिको विकास गर्दै जिल्लालाई खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने उद्देश्यले नेपाल सितोरियो कराते संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । करिब ३५ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतियोगिता सफल पार्नका लागि जिल्लास्थित राजनीतिक दल, सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उपसमितिमा समेटिएका छन् । गत वर्ष सञ्चालन गर्ने भनिएको प्रतियोगिता भूकम्प, नाकान्दी र आर्थिक समस्या लगायतका कारण निर्धारित मितिभन्दा वर्षदिन पछि सरेको थियो । दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सञ्चालन गरिने प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने समूहले क्रमशः एक लाख, ७० हजार, ४० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ठ टिम कोच, उत्कृष्ट टोली व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश÷दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष राईले जानकारी दिए । आर्थिक सहयोग संकलनबाट सञ्चालन गरिने प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्व विद्यालय तथा भारत, भुटान, बंलगलादेश र श्रीलङ्काको सहभागिता रहने आयोजकले जनाएको छ । १८ समूहको सहभागिता रहने प्रतियोगितामा ४ सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछ ।

७६ पदक संख्याका लागि प्रतिस्पर्धा गराइने प्रतियोगितामा १९ स्वर्ण, १९ रजत र ३८ कास्य पदक रहेको छ । प्रतियोगितामा पुरुष एकल र महिला एकल काता तथा पुरुष समूह र महिला समूह कातामा तीन÷तीन जनाले प्रतिष्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा पुरुषतर्फ ४५, ५०, ५५, ६५, ६७, ७५, ८४ र ८४ केजी भन्दामाथि तथा महिलातर्फ ४०, ४५, ५०, ५५, ६१, ६८ र ६८ केजीभन्दा माथि प्रतिस्पर्धा गराइने जनाइएको छ । प्रतियोगिताको लागि संघले १२ जना खेलाडीको आयोजक टोली घोषणा गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment