अर्की बिहे गर्नलाई श्रीमतीलाई विदेश

समाचार

वेदना
खोटाङ, ५ जेठ । जीन्दगीमा यस्तो पनि मोड आउँछ भन्ने उ बेला कल्पनै थिएन जीबनकुमारीलाई । उभोखोलाको चर्चित ठाउँ फेदीको बनपाखा, उकाली–ओह्रालीमा घाँसदाउरा, गोठाला–खेताला, अर्मपर्ममै बाल्यकाल बिताईन् जीबनकुमारी राईले । उसो त खोटाङको उत्तरी गाबिस फेदी–३ की उनीले गाउँमै सञ्चालित धुले स्कुलमा ५ कक्षासम्मको पढाई पनि पुरा गरिन् । घरकी ठुली छोरी जीबनले पढाईलाई ५ कक्षामा नै थन्काईन् । बिस्तारै उमेर छिमल्दै गरेकी जीबनकी अनायासै गाउँ नजिककै पर्ने फेदी–४ का दामल मिल्ने बिन्दुजीत तामाङसँग पिरती बस्यो । अन्ततः लोभ लाग्दो पिरतीलाई बिवाहमा परिणत गर्ने निर्णय गरे र गरे पनि उसै ।

अश्रूमिश्रित आँखा भए पनि कृतिम हाँसो हाँस्ने चेष्टा गर्दै जीबनकुमारी बिगतका मीठा पलहरु सम्झिन्छिन्–‘रमाईलो नै थियो ती दिनहरु । हामी खुशी थियौं । बिहे गरेको १ बर्षमा छोरी जन्मिईन् ।’ उनी थप्छिन्–‘सुख–दुःख चल्दै नै थियो । तै पनि उ बिदेश जाने भयो र बिहे गरेर एक बर्ष सँगै बसेपछि उ दुबई गयो ।’ दिक्तेल भवनगैरास्थित सुरक्षित आप्रवासन परियोजना(सामी) र जनसेवा समाज नेपाल जालपाको साझेदारीमा सञ्चालन भएको बैदेशिक रोजगारसम्बन्धी सुचना केन्द्रमा भेटिएकी उनी बिगत कोट्याँउँछिन्–‘उ दुबई गएपछि पैसा पनि ठीकै कमाउन र पठाउन थाले । उसले पठाएको पैसाले संखुवासभाको तुम्लिङटारमा जग्गा पनि किन्यौं ।’ श्रीमान तथा परिवारप्रतिको अगाध बिश्वास गरेको पुष्टी गर्छिन् उनी । भन्छिन्–‘बिवाह दर्ता गराएको, नागरिकता पनि उसकै नामबाट निकालेकोथेँ तर पनि जग्गा सासुसुराको नाममा पास गरायौं ।’ श्रीमान् पहिलो छुट्टी आए, केही पैसा ल्याए , अनि फेरि फर्किए ।

समय घर्कंदै गए, परिस्थती बद्लिँदै गए, त्यतिखेर सम्म एक छोरी र एक छोराका बावुआमा बनिसकेका थिए उनीहरु । सुखी र शान्त पारिवारिक चक्र उल्टो घुम्न थाल्दैछ भन्ने परिवारको कसैलाई पत्तै भएन र पनि बेपत्तासँग उल्टो गति लिन थालिसकेको थियो उनीहरुको दाम्पत्य जीबनले ।

जीबनकुमारीलाई आफ्नो श्रीमान बिस्तारै परिबर्तन हुँदै गएको महशुष हुन थालेको थियो । छोराछोरी तथा घरपरिवारका बारेमा बेवास्ता गर्न थाले । थोरै–थोरै गर्दै खर्च पठाउन त बन्द गरे नै फोनमा कुरा गर्दा समेत च्याँठिन थाले । जीबनकुमारी भन्छिन्–‘पैले त राम्रै कुराकानी हुन्थ्यो, राम्रै सल्लाह हुन्थ्यो । पछि–पछि त खै के भयो । यस्तै हुनु लेखेको रैछ ।’ थप्छिन्–‘ एक्कासी बिदेश जा ! पो भन्न थाले ।’ छोराछोरीलाई बिचल्ली पारेर आफु बिदेश जान अस्विकार गर्दा धम्कयाँउँदै बिदेश जान निर्देशन गरेको उनि बताउँछिन् । श्रीमान् स्वयम् पनि बिदेशमै रहेको र आफु पनि बिदेश जाँदा बालबच्चाको बिचल्ली हुने भएकाले जीबनकुमारीले श्रीमान समक्ष फोनमार्फत बिन्ति गरेरै बिदेश जान अस्विकार गरेकी थिईन् ।

‘मान्छे चार महिनाको नानी छोडेर त पैसा कमाउन बिदेश आएका छन् । तँ चाँहीँ मैले कमाएको खाँदै बस्छस् ?’ यो उनको श्रीमानको भनाई रहेको जीबनकुमारी सुनाउँछिन् । भन्थे अरे–‘ अबदेखि तँ तेरो लागि आफै कमा, म मेरो लागि ।’ जीबनले जति सम्झाए पनि उनको केही सीप लागेन । अन्ततः जीबनकुमारी मलेसिया जाने प्रक्रियामा लागे र आफैले पैसाको जोहो गरेर लागे मलेसिया । उनले आफ्ना अबोध नानीहरु आफन्तको हातमा छाडे । सम्झन्छन्–‘ मेरो नानीहरु अरुको हातमा सुम्पिएर नचिनेको अन्जान देश लाग्दा मेरो मन कति रोयो, मुटु कस्तो भयो अब के भन्नु र भाई जत्तिकै होला मनमा ?’

श्रीमानको खास नियतबारे कुनै अत्तोपत्तो नपाएको जीबनकुमारी बताउँछिन् । बिदेश पठाउनुको मुख्य ध्याउन्न पैसा कमाओस् अनि आफ्नो परिवारको भबिश्य बनोस् भन्ने थिएन उनको श्रीमान बिन्दुजीतको । उन्को त श्रीमति बिदेश पठाएर, अनेक बहानाले आफुबाट पन्छाएर अर्की बिहे गर्ने जाल थियो । जुन कार्य गर्न सफल पनि बने । जीबनकुमारी भन्छिन्–‘मलाई पन्छाएको पो रै’छ ।’ आफ्नो सोझोपना तथा श्रीमानप्रति गरेको बिश्वासको फाईदा उठाउँदै आफुलाई उल्लु बनाई फसाएकोमा आफैले आफैलाई सराप्छिन् उनी । भन्छिन्–‘दुबईमै अर्की भोजपुरतीरको केटी बिहे गरेछन् ।’ ती महिला र आफ्नो श्रीमानको अलि–अलि सम्बन्ध रहेको पहिले नै शंका लागे पनि बिहे नै गर्छन् भन्ने जीबनकुमारीलाई लागेको थिएन । दुबइर्मै बिहे त गरे–गरे आफुलाई घरबाट निस्केर हिडिँहाल् भन्दा उनलाई असह््य भएको छ । उनका अनुसार श्रीमानले फोनमार्फत तुरुन्त घर छाडेर आफ्नो बाटो लाग्न धम्की दिईरहन्छन् । उनी सुनाउँछिन्– ‘कहिल्यै फर्कँदैनस भनेर बिदेश पठाएको कसरी फर्किस् ? अब तुरुन्त घर छाडिदे ! पो भन्छ ।’ थप्छिन्–‘मलाई त उतै मर्छ या हराउँछ भनेर बिदेश जान लगाको र’छ । तर जति दःुख पाए पनि फर्कंन त फर्किएँ ।’ मलेसियामा दुःख र समस्याको जन्जिरमा नराम्ररी जेलिएर फर्किएको जीबनकुमारी सुनाउँछिन् । अहिलेको पीडा र तनाबको कहानी सुनाईनसक्नु रहेको उनको भनाई छ । भन्छिन्–‘मेरो जस्तो कहानी त कसैको नहोला । कसरी सुनाईसक्नु त्यति लामो कहानी ?’ सुरक्षित आप्रवासन परियोजना(सामी) र जनसेवा समाज नेपाल जालपाको साझेदारीमा दिक्तेलस्थित भवनगैरामा सञ्चालित सुरक्षित आप्रवासन सुचना केन्द्रमा भेटिएकी उनी कुराकानीको प्रशंगमा धेरै बेर रोएकी थिईन् । अर्को देश जानको लागि प्रक्रियामा रहेकी उनीलाई परामर्श दिने क्रममा भाबबिव्ह्ल भएकी मनोसामाजिक परामर्शकर्ता हरीमायाँ राईको भनाई छ ।

बिन्दुजीतको बिहे ः ‘दुबईमा मेरै मामाको छोराले उस्को बिहेको भोज खाएर आएछन्’

जब बिन्दुजीत छुट्टीबाट फर्किएर गए तब यताको सम्बन्ध धमिल्याउँदै लगे र उताको सम्बन्धमा चमक दिदैं । जीबनकुमारीका अनुसार भोजपुरकी ४०–४५ बर्षकी श्रीमानभन्दा पनि जेठी एक महिला दुबईमै बस्थिन् । जुन महिला आफ्नो श्रीमानभन्दा अगाडी देखि रोजगारीका लागि दुबई गएकी थिईन् । दुबईमै भेट भएका उनीहरु नजिक–नजिक रहेका कारण उनीहरुको सम्बन्ध बढ्दै गयो । ती महिलाको श्रीमानको हत्या भएको थियो । खरदारको जागिरे हुँदा डाँकाहरुले ती महिलाको श्रीमानको हत्या गरेको जीबनकुमारी बताउँछिन् । ती महिलाको छोरीले समेत बिहे गरिसकेकी छिन् । जुन महिलासँग लसपस भएको शंका त पहिले नै जीबनले गरेकी थिईन् । दुबई गएर फर्कने गाँउका देवरहरुबाट त्यसको सुईंको पाएको उनी बताउँछिन् । भन्छिन्–‘मलाई त अलिअलि सम्बन्ध मात्र भन्ने लागेको थियो । पछि पो थाहा भयो । आखिर बिहे गरेरै छाडेछ ।’

अचम्ममा परे जस्तो गरी कृतिम हाासो हाँस्दै थप्छिन्–‘ तीन दिन ठूलो पाटी मनाएछन् भायृ दुबईमै । मेरो आफ्नै मामाको छोराले पनि त्यो बिहे पाटी खाएर आएछन् ।’ दुबई गएका गाउँघरकाहरुलाई उनीहरुको सम्बन्ध र बिहे गर्ने कुरा राम्ररी थाहा भए पनि जीबनकुमारीको ईमान्दारिता, पतिप्रतिको मायाँ र बिश्वास देखेर सत्य कुरा सुनाउँन सकेका थिएनन् । जीबनको भनाई–‘ अहिले आएर पो सबै भन्छन् । आ ! यस्तै रहेछ । जिन्दगीमा । के गुनासो गर्नु खै !’

‘डिभोर्स माग्छन्, एक तर्फी नमिल्दो रैछ’

फोनमार्फत बारम्बार डिभोर्स दिएर जा ! भन्ने गरेको श्रीमान आफै भने डिभोर्स गर्न नेपाल आएका छैनन् । डिभोर्स दे अनि थपक्क घर छाडेर तेरो बाटो लाग् ! कानुनले भ्याए जति सम्पति दिन्छु भन्ने उनको श्रीमानको भनाई रहेको जीबनकुमरी सुनाउँछिन् । कुनै दोष पनि नदेखाउने र डिभोर्स माग्ने तथा धम्क्याउँने बिन्दुजीतले पहिले राम्रो लागेकोले बिहे गरे पनि अब मन पर्न छाडेकोले डिभोर्स गर्नुपर्ने बताउने गरेका छन् । जीबनकुमारीका अनुसार अर्कैसँग मन पराई बिहे गरिसकेकाले अब तेरो खाँचो छैन भन्दै आफ्नो बाटोबाट पन्छिहाल्न धम्की दिईरहन्छन् ।

जीबनले पनि डिभोर्सको प्रक्रिया बुझिन् । तर दुवै जना नभई अदालतले डिभोर्स नगरिदिने भएकाले झन्झट भईरहेको उनको भनाई छ । उनी भन्छिन्–‘अब त यो सम्बन्ध कसरी सुध्रन्छ र ? आफै दुःख–सुख बाँच्नुर्छ नी भाई अब । यति बर्षको सम्बन्ध सकियो ।’ उनीहरुको बिहे दर्ता गरी उनकै श्रीमानको नामबाट नागरिकता समेत लिएको जनाईएको छ । त्यसै कारण पनि उनका श्रीमान धम्क्याउाने गर्छन–‘ बिहे दर्ता, नागरिकता छ भनेर ठुलो कुरा नगर ।’ अब सम्बन्ध कुनै हालतमा नगाँसिने उनको भनाई छ । भन्छिन्–‘ अब त असम्भब छ । १० बर्ष भईसक्यो सम्बन्ध बिग्रको, उसले बेवास्ता गरेको ।१० बर्ष भनेको त ए जुग हो भाई ।

सासुससुराको आशय भने बुहारी घरै आओस्, गरी खाओस् ! भन्ने आशय रहेको बताईएको छ ।

‘मलेसियामा भुक्तमान खेपियो, अब त तालिम नलिई त जाँदैजान्न, लास्टै धोका पाईयो’

‘काबु भएँ भाई आबो ता ! जुन देश गए पनि तालिम नलिई र भाषा नसिकी त जाँदैजान्न । साफी दुःख पाईयो, लास्टै धोका पाईयो ।’ काठ्माण्डौ नै एकै पटक मात्र गएकी जीबनकुमारीलाई मलेसिया पुग्दा अर्कै लोक पुगे जस्तो लागेको थियो । अनपढ गाउँकी महिला पहिलो पटक पराई देशमा पुगेको उसैमाथि नेपालमा म्यानपावरले भने जस्तो सेवा सुबिधा नपाएको । उनी भन्छिन्–‘ न त भाषा जानेको न त काम नै जानेको, म त अलमलमा परिहालें नि !’

उनीलाई तालिम नलिई र भाषा नसिकी गएकोमा ठुलो पश्चताप छ । ‘तँलाई मार्छु भन्दैछ की, तँ राम्रो ईमान्दार छस् भन्दैछ की के हो, के हो ? भाषा नजाने पछि के लाग्दोरछ र ! जे काम लायो अनुसारको भरमा गरिन्थ्यो । ’

उनीमाथि मेनपावर कम्पनीले पनि झुक्याएर पठाएको रहेछ । ‘मैनाको ९ सय भनेर पठायो तर उहाँ त ५ सय मात्र दिने रहेछ । मलाई त झुक्याएको पत्तै भएन ।’ जीबनकुमारीलाई बिदेश जानु अघि अनिबार्य लिनुपर्ने अभिमुखिकरण कक्षाको बारेमा पनि थाहा थिएन । न त उनलाई म्यानपावरले नै जानकारी दिए । उनि भन्छिन–‘खै के तालिमको सटिपिकेट लिनको लागि भनेर १ हजार मागेन् अनि मैले दिएपछि एउटा प्रमाणपत्र ल्याईदिएन् ।’ तर उनलाई अभिमुखिकरण कक्षामा भने लगिएन । ‘मलाई त के थाहा र कस्तो मेनपावर, कस्तो काम, कस्तो देश ? झुटो पेपरहरु पनि दिएको रै’छ त्यो पनि लगियो ।’ जीबनकुमारी थप्छिन्,–‘आफु त लाटी आजकाल जतिको पनि थि’ना ।’ ठट्यौली पारामा उनी भन्छिन–‘म सँग जाने ४ जना तामाङनी बहिनीहरु प्नि थिएन, उनीहरु त झन् म भन्दा नि पल्लो छेउको लाटी रै’छ । ‘क’ नजान्ने उनीहरु बिचरा ! केही नजान्ने, केही नबुझ्ने रै’छ, आफू पनि उस्तै, उस्तै–उस्तै परिएछ के भाई !’

काठमाण्डौंस्थित ह््याप्पी नेपाल मेनपावर कम्पनीबाट गार्मेण्ट कम्पनीमा कामदार भई गएका उनी २ महिना सोही कम्पनीमा काम गरी इलिगल भई भागेर अन्य ठाउँमा नै काम गर्न थालिन् । नेपालमा भनिए जस्तो मलेसियाको सो गार्मेण्ट कम्पनीमा कुनै सेवा सुबिधा नभए पछि भागेर अर्कै ठाउँमा ‘हाउस किपिङ’को काम गरेर २ बर्ष पछि उनी नेपाल फर्केकी हुन् । उनी सुनाउँछिन्–‘घर फर्कन पनि नदिने, सेवा सुबिधा पनि नहुने अनि जेसुकै होस् भनेर भागेर अर्को ठाउँमा काम गर्न थालेँ ।’

जे होस् मलेसिया सरकारले बर्षमा एक पटक ईलिगल भएका अन्र्तराष्ट्रिय कामदारहरुलाई स्वदेश फर्कन मौका दिएको समयमा नै उनी नेपाल फर्किए । त्यसो गर्नलाई पनि दुतावासदेखि अन्य ठाउँसम्म धेरै नै झमेला ब्यहोर्नु परेको उनको भनाई छ । ‘ईलिगल’ भई काम गर्दा प्रहरीको डर, डाकाहरुको बिगबीगिदेखि लिएर अनेक खतरा मोल्न उनी बाध्य भएकी थिईन् मलेसियामा ।

उनी फेरि एक पटक बैदेशिक रोजगारीमा जाने तयारीमा छिन् । भन्छिन्–‘ श्रीमानसँग त्यस्तो भैसकेपछि अबा मेरो छोराछोरीको भबिश्यको लागि भए पनि एक पटक बिदेश जाने नै सोंचले एमआरपी बनाउन आ‘को । एक पटक दुबई जाउँ की भन्ने सोंच बनाएको छु ।’ तर उनको आफैसँग एउटा सर्त छ–‘पहिले अन्जानमा केही नबुझी गए पनि अब चाहीँ जसरी भए पनि भाषा सिक्ने र तालिम लिने ठाउँ खोजेर भाष सिकेर, तालिम लिएर केही बुझेर मात्रै जाने हो भाई ।’

जीबनकुमारीलाई आवश्यक परामर्श तथा तालिमको लागि सुझाब–सल्लाह दिईएको सुचना तथा परामर्श केन्द्रमा कार्यरत परामर्शकर्ताहरुले जनाएका छन् ।

‘छोरा काबु भएछ ! ममी जहाँ जाने म पनि त्यहीं जान्छु भन्छ’

एक कक्षामा पढ्ने छोरा हाल नेर्पास्थित जीबनकी बहिनीकोमा बसाईएको छ । ७ कक्षामा पढ्ने १३ बर्षिया छोरी फेदी ३ स्थित मावलीमा बस्छिन् । आमा जीबनकुमारी भने दुबई जानको लागि प्रक्रियामा छिन् । जीबनकुमारीले छोरा–छोरीलाई कहिले काठ्माण्डौ, कहिले धरानका आफन्तकहाँ राखे । जीबनकुमारी बिदेश हुँदा उतैबाट खर्च पठाईदिने गर्थिन् । उनीहरुका बुवाले भने बेवास्ता गर्थे । ‘ईलिगल’ भएर काम गर्न थालेपछि जोखिम भए पनि उन्को कमाई भने राम्रै भएको थियो, जुन कमाई छोराछोरीको लागि खर्च गरिन् । भन्छिन्–‘ धरानमा राखेको थिँए, गर्मीको कारण बिरामी परेको परेकै गरेकोले यतै ल्याएको छु ।’ नानीहरुले आफुलाई एकछिन् छोड्नु नमान्ने गरेको उनी सुनाउँछिन् । नमिठो मान्दै भन्छिन्–‘के गर्नु भाई ! बिदेश जाने रहर त छैन नी , तर एक पटक जााने नै टुंगो गरेँ ! जे भए पनि जानै प¥यो । मेरो नानीहरुले त ममी जहाँ जाने म पनि त्यहीँ जान्छु भन्छ ।’ एकै छिन रोकिएर फेरि थप्छिन् –‘पैले नै काबु भएछन् भाई, सानैमा नै छोडेर हिँडियो । अहिले त झुक्याएर हिडेको ।’ छोरीको भने ज्ञान आईसकेकाले दुःख–सुख बुझ्न थालेको उनको भनाई छ ।

रेमिट्यान्ससँगै पारिवारिक बिखण्डनको समस्या पनि तीब्र रुपमा बैदेशिक रोजगारीले भित्र्याईरहेको जिल्लाबासीको भनाई छ ।

Facebook Comments

Leave a Reply