नाच्दा नाच्दै हिरोइन भइन् ‘अस्मी’

कला

माक्पाली कान्छा
काठमाडौं, ३ जेठ । लमजुङको घेर्मु–६ सन्जापुको पानी खाएर नानीदेखि जवानीसम्म बिताएकी अस्मी गुरुङ कुशल नृत्यकार हुन् । बाल्यकालदेखि नै नाच्न भनेपछि हुरुक्क हुने अस्मीलाई त्यही समयमा गाउँका काकाबाबुहरूका लागि हिरोइन (नायिका) थिइन् । नाच्नकै लागि विभिन्न गाउँहरूमा पुगेर कम्मर मर्काइमर्काइ नाच्ने अस्मीको रुचि नृत्यसँगै अभिनयतर्फ थियो । मनमा पलाएको रहरलाई छोपेर आखिर को बस्न सक्छ र ? भयो पनि त्यस्तै उनी कला यात्रामा अहिले निकै अगाडि उभिएकी छन् ।

नाच्दानाच्दै सुरु भयो उनको अभिनय यात्रा पनि, मंगोल अनुहार बोकेकी गहँुगोरी गुरुङसेनी नानीलाई पहिलोपटक प्रेम सुब्बाले आफ्नो ‘निशानी’ चलचित्रमा सानो भूमिका दिए । उनको त्यो भूमिका नै अभिनय यात्राको पहिलो खुड्किलो बन्यो त्यसपछि थालिन् अभिनय र नृत्य एकैसाथ उनले । सानैमा टेलिभिजन हेरेर सिकेको अभिनयले उनलाई अभिनयमा लाग्न निकै मद्दत गरेको उनले सुनाइन् । उनले भनिन्, ‘अभिनय गर्न कुनै तालिम नै लिएको छैन तर सबैले मेरो अभिनय राम्रो छ भनेको सुन्दा गर्व लाग्छ ।’ उनले सुनाइन, ‘मेरो कलायात्राको गुरुघर गाउँमा रहेको मनास्लु युवा क्लब हो ।’ जसले जुनसुकै ठाउँमा कार्यक्रम गर्नुप¥यो भने पनि उनलाई स्टेजमा चढाउने काम गरेको उनले सम्झिरहेकी छन् । बाल्यकालको यसक्षेत्रको रुचिमा उनलाई परिवारले समेत राम्रै साथ दिएका छन् । चलचित्र ‘निशानी’बाट पर्दामा देखिएकी उनी गुरुङ संस्कृतिमा आधारित चलचित्रहरूमा नायिकाको रूपमा उदयीमान कलाकार हुन् । उनले नेपाली मूलधारको चलचित्रमा समेत प्रशस्तै अफर पाएको भन्दै पहिलोपटक आफ्नो मौलिक संस्कृति र ऐतिहासिक परम्पराको चलचित्रहरूमा काम गरिरहेकाले उता ध्यान दिन नसकेको बताइन् । उनी भन्छिन्, ‘मैले गर्ने पहिले मलाई चिनेर नै हो । बाँकी अरूले चिन्नका लागि आफ्नो कला संस्कृतिलाई सरक्षण गरौँ बाँकी बिस्तारै सवल भइन्छ ।’ उनले गुरुङ संस्कृतिमा आधारित आधादर्जन बढी चलचित्रमा अभिनय गरिसकेको बताउँदै भर्खरै मात्र मिलन गुरुङद्वारा निर्मित सुवास गुरुङको निर्देशनमा बन्दै गरेको चलचित्र ‘भेडीगोठ’को सुटिङ सकाएको जानकारी दिएकी छन् ।

अभिनयको चटारोसँगै उनलाई स्टेजमा नृत्यकोसमेत उतिकै चटारो रहेको छ । नेपालका पूर्वदेखि पश्चिमसम्मका स्टेजहरूमा आफ्नो प्रस्तुति दिन उनलाई समय व्यवस्थापन गर्न समस्या नै रहेको उनले भनिन् । विशेष गरेर आकर्षक हाउभाउ र अभिनयकै कारण स्टेजहरू पाइरहेको उनको भनाइ रहेको छ । विशेष गरेर लोक नृत्यमा रमाउने उनी सबैखालका नृत्यमा उतिकै फिट रहेको बताउँछिन् । उनले लोकनृत्य आफ्नो पहिलो प्याटन भएकोसमेत सुनाइन् । उनले भनिन्, ‘नाच्नका लागि जुनसुकै किसिमका नृत्यहरूमा नाच्न सक्छु । तर, लोकनृत्य मेरो बाल्यकालदेखि नाचिआएको नृत्य हो ।’ पछिल्लो समयमा राष्ट्रिय नाचघरमा ६ महिना नृत्य अभ्याससमेत गरेकी उनले शास्त्रीय नृत्यमासमेत उत्तिकै रुचि रहेको बताएकी छन् । पहिलोपटक विद्यालयमा नाचेको घाटुनाच उनको स्मरणीय रहेको छ । ‘सानै उमेरमा फिर्लिकफिर्लिक नाच्न मनपर्ने मलाई आखिर यही नै कर्मक्षेत्र हुनु जुरेको रहेछ । यसलाई पनि कर्मक्षेत्र मानेको छु ।’ उनले भनिन् ।

यद्यपि, अस्मी आपूmलाई कुशल नृत्यंगनाको रूपमा स्थापित गर्दै चलचित्रको अभिनयमासमेत उत्तिकै जम्ने योजनामा छिन् । दर्जज बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी उनले भविष्यमा कुशल कलाकार भएर बाँच्ने पनि बताएकी छन् । पश्चिमे लोक भाकाको सालैजो, घाटु जस्ता मौलिक संस्कृतिमा आधारित नृत्यमा अब्बल मानिएकी उनी अभिनयमासमेत निकै खुल्ने गरेकी भर्खरै गुरुङ संस्कृतिमा आधारित नेपाली भाषी चलचित्र ‘भेडीगोठ’का निर्देशक सुवास गुरुङले बताए । उनले ‘अस्मिता, पाते, मा’लगायत चलचित्रहरूमा अभिनय गरिसकेकी छन् । भने उनको ‘भेडीगोठ’ उत्पादनको चरणमा रहेको छ ।

सौर्य दैनिकबाट

Facebook Comments

Leave a Reply