चीनको मार्गबाट नेपालले संसारभर व्यापार सम्बन्ध राख्न सक्छ- कविताराम श्रेष्ठ

बिचार

भूपरिवेष्ठित नेपाललाई जम्मा दुइ देशले घेरेका छन। त्यो पनि ३ तिर भारत र एकतिर चीन । एकातिर चीन हुँदाहुँदै पनि अग्ला हिमालयको सीमाले यसलाई छेकेको हुँदा त्यतापट्टिबाट सरसहयोग वा सारनतारण हुन कठिनाइ थियो नै। एउटा मात्र अर्को देश सीमामा थियो भने पनि नेपालको स्थिति केही बलियो रहन्थ्यो। सोझै यसरी भारतबाटै घेरिएको बिवशतामा नेपालले भारतबाट सदियौंदेखि सोझै हेपाइ र अनेकन अर्घेलाई खेपिरहन परेको स्थिति थियो। तर हालैको नेपाल भारत बीचको सम्बन्धमा आएको तिक्तताले यसमा अर्कै रंग फेरिएको छ। अति भएपछि कमजोरले पनि विद्रोह गर्छ त्यसमा पनि नेपाल त सदा सार्वभौम रहेको देश पर्यो। कसैको गुलामीमा नपरेको यो देश सदा कसरी हेपिएर रहन सक्थ्यो ? अनेक संघर्षले पाख पुग्दै आएको नेपालले यसपल्ट स्थितिलाई पल्टाएर देखाइदियो। यसले चीनसँग तेस्रो अन्य मुलुकहरूसंग व्यापार गर्न पारवहनको सुबीधा माग्यो र चीनले पनि नेपालको इच्छा मुताबिक आफ्नो भूमिबाट अन्य मूलूकसंगको व्यापारको लागि पारबहन सुबिधा उपलव्ध गरायो नै।

यसरी यस पारबहन सुविधाले हालसम्मको भारतसंगको एकलकाँटे अत्मनिर्भरताको अन्त्य भयो। नेपालले अब भारतसंग झुकिराख्न पर्ने अवस्थाको अन्त्य भैसकेको छ र संगै नयाँ वैकल्पिक उपाय र बाटोहरू पनि प्राप्त भएको छ। विशेषगरी चीनको द्रुतगतिका रेल नेटवर्कका कारणले समुद्रिमार्गभन्दा ३५ दिन कम समय लाग्ने हुनाले समयका साथै श्रम र लागतमा बचत पनि हुने पुष्टि भएको छ।

यो त भयो हालको स्थितिमा भएको कुरा, चीनले केही वर्षभित्रै यसको रेलको बिस्तार नेपालको सीमासम्म पुर्याउने काम जोडतोडले गरिरहेको छ र अझ पछि हिमालै छेंडेर नेपालको तराइसम्म पुर्याउने योजना पनि अगाडी बढाएको छ यसले बुझाउँछ- हामीलाई केही वर्ष दु:ख होला तर अब भारतको चाकरी गर्ने दिनको अन्त्य भै नै सकेको हो। अब नेपाललाई सुबिधा दिने कुरामा भारतले चीनसंग प्रतिष्पर्धा गर्न पर्ने दिन पनि आउँदै छ।

चीन आफै अति नै ठूलो देश भएको र नेपालले यो देशसंग मात्रै व्यापार गर्दा पनि पुग्दो बजार व्यवस्था हुने पक्का छ, तथापि यस पारबहन सुबीधाले चीनको सीमामा भएका तेस्रो मुलुकहरूसंग पनि व्यापार गर्न अवसर प्राप्त गरेको छ। यसका वरिपरी रुस, जापान, मंगोलिया,उत्तर कोरिया, दक्षिण कोरिया, हंगकंग, मकाउ, ताइबान, फिलिपिन्स, लावस, भीयत्नाम,थाईल्याण्ड, बर्मा, भुटान, पाकिस्तान, ताजकिस्तान, काजकिस्तान, मंगोलिया गरी १६ वटा देशका साथै प्यासिफिक ओसनको समुद्री मार्गबाट चीनको बन्दरगाह उपयोग गरी न्यूजिल्याण्ड, अस्ट्रेलिया, इन्डोनेशिया, मलेसिया, सिंगापुर, कम्बोडिया, ब्रुनाई, अफ्रिका, उत्तरी अमेरिका, दक्षिण अमेरिका र युरोपका धेरै देशमा पनि व्यापारको सुबीधा लिनसक्ने भएको छ।

– कविताराम श्रेष्ठ

 

Facebook Comments

Leave a Reply