सिंहदरवार घेर्ने अन्तिम तयारी

पहिलो दिनका लागि भयो कार्य विभाजन

एविसि खबर
काठमाडौं, १ जेठ । संघीय गठबन्धनले आइतवार गर्न लागेको सिंहदरवार घेराउ कार्यक्रममा मोर्चाका शीर्ष नेताहरू सडकमा ओर्लिएका छन् । सरकार मधेसका माग सम्बोधन गर्न तयार नभएको भन्दै आजबाट गठवन्धनले काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको हाचे ।
त्यसका लागि बिभिन्न जिल्लाहरुबाट कार्यकर्ताहरुलाई राजधानीमा ओसारिएको छ । मधेसी मोर्चाको आन्दोलनलाई लक्षित गर्दै सरकारले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । सिंहदरवारको सबैभन्दा संवेदनशील मानिने दक्षिणी गेट घेर्न सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेतृत्व गर्ने भएका छन । संघीय समाजवादी फोरम नेपाल बाहेक संघीय गठवन्धनमा आबद्ध मधेसी मोर्चाका घटकहरू र अन्य मधेस केन्द्रित दलहरूको नेतृत्व गर्दै सदभावनाका अध्यक्ष महतोले दक्षिणी गेटमा हुने प्रदर्शनको नेतृत्व गर्ने बताइएको छ ।

महतोलाई सघाउनका लागि महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), महेन्द्र यादव नेतृत्वको तराई मधेस सदभावना पार्टी (तमसपा), शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिकका कार्यकर्ताहरू रहेको बताइएको छ ।
नयाँबानेश्वर ३ नम्बर गेटबाट बिजुलीबजार हुँदै हनुमानस्थानसम्म जुलुसको नेतृत्व गर्दै आउने र त्यसपछि प्रहरी घेरा तोडी दक्षिणी गेटसम्म पुग्ने अध्यक्ष महतोको योजना रहेको स्रोतको दावी छ । आफै सडकमा ओर्लिए कार्यकर्ताहरूको हौसला बढ्ने र कार्यक्रम सफल हुने ठम्याई महतोको छ । संघीय गठबन्धनका प्रचार विभाग संयोजक आङकाजी शेर्पाले दिएको जानकारी अनुसार माइतीघर मण्डलाबाट सिंहदरबार घेराउको नेतृत्व फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले गर्ने भएका छन् । उता उपेन्द्र यादवसँगै माइतीघर मण्डलामा सबै जनजाति दलहरू हुनेछन् । यसअघि संघीय गठबन्धनले चार स्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरवार घेराउ गर्ने जनाएको छ ।
तर, शुक्रबार साँझबाट दुई स्थानबाट मात्रै सिंहदरवार घेराउ गर्ने भन्दै आन्दोलन परिचालन गरिने उपसमितिका संयोजक आङकाजी शेर्पाले सूचना सम्प्रेषण गरिरहेका छन् । शेर्पाले दुई स्थान माइतीघर मण्डला र हनुमानस्थानमा आइतबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म धर्नामा बस्न २९ दलीय गठबन्धनका सदस्यहरूलाई निर्देशन दिएका छन् ।
सोचे जति कार्यकर्ता नआउने देखेपछि कार्यक्रमलाई संशोधन गरेर दुई स्थान हनुमानस्थान र माइतीघर मण्डलामा केन्द्रित गरेको स्रोतको भनाइ छ ।स्रोतका अनुसार संघीय गठबन्धनले धर्ना र घेराउका लागि माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा १७ साना दललाई पठाउँदैछ भने हनुमानस्थानमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा १२ दलहरूलाई पठाउन लागेको स्रोतले बतायो ।
यसैबीच, संघीय गठबन्धनले सुरक्षाकर्मीबाट बल प्रयोग भएमा त्यसको प्रतिकार गर्ने योजनासहित रणनीति बनाएको र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पनि चेतावनी दिइसकेका छन् । स्रोतका अनुसार प्रहरीसँगको झडप हुन सक्ने भएकाले प्रतिकारका लागि बौद्धतिरका युवाहरूलाई लाठीसहित सिंहदरबार घेराउमा सहभागी गराउने गोप्य तयारी गरेको स्रोतको दाबी छ ।
जेठ २ गते विहान ९ बजेदेखि सिंहदरबार घेराउ माइतीघर मण्डला आर्कमा संघीय समाजवादी फोरम नेपाल, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल, संघीय जनमुक्ति पार्टी, थरूहट तराई पार्टी नेपाल, संघीय लिम्बुवान पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी नेपाल, लिम्बुवान संयुक्त संघर्ष समिति, शेर्पा स्वायत्त प्रदेश संयुक्त संघर्ष समिति, नेवाः स्वायत्त राज्य मंका संघर्ष समिति, ताम्सालिङ संयुक्त संघर्ष समिति, तमुवान संयुक्त संघर्ष समिति, थरूहट संयुक्त संघर्ष समिति, संयुक्त मगरात मन्च, संयुक्त दलित अधिकार मन्च, लिम्बुवान मुक्ति मोर्चा नेपाल, किरात राज्य संघर्ष समिति र राष्ट्रिय दलित मुक्ति रहने छन् ।
त्यस्तै हनुमानस्थान आर्कमा तराई मधेस लोकतान्त्रिक पार्टी, सदभावना पार्टी, तराई मधेस सदभावना पार्टी नेपाल, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सदभावना पार्टी, मजफो (गणतान्त्रिक), नेपाल राष्ट्रिय पार्टी, आदिवासी जनजाति पार्टी, लोक दल, लोकतान्त्रिक पार्टी नेपाल, बहुजन समाज पार्टी नेपाल र खसान राष्ट्रिय संयुक्त संघर्ष समिति रहने बताइएको छ ।

 

Facebook Comments

सम्बन्धित

Leave a Comment