दमन भए गृहमन्त्रीसँग भिड्ने किरातीको उद्घोष

राजनीति

एविसि खबर
काठमाडौं, २७ बैशाख । संघीय गठबन्धनद्वारा घोषित सिंहदरवार घेर्ने आन्दोलनमा एमाओवादी नेता तथा पूर्वमन्त्री गोपाल किराती दैनिक सडकमा आउने भएका छन् । सत्ता साझेदार एमाओवादीका स्थायी समिति सदस्य किरातीले प्रहरी दमन भएमा आफु सिधै गृहमन्त्री सँग आफै भिड्ने बताएका छन् ।

पूर्व संस्कृतिमन्त्री किराती किरात राई समुदायको साझा संगठन किरात राई यायोक्खाले गठन गरेको किरात राज्य संघर्ष समितिको संयोजक हुन् । किरात राज्य संघर्ष समितिले जारी अपूर्ण संविधानलाई संशोधन वा पुनरलेखन मार्फत पूर्ण बनाउनुपर्ने, धर्मनिरपेक्षता, मानुपातिक÷समाबेशी बनाउनु पर्ने, पहिलो संविधानसभा राज्य पुनसंरचना समिति र पुनसंरचना आयोगको प्रतिवेदन अनुसार संघीय राज्य व्यवस्था कायम गरिनुपर्ने माग राख्दै आएको छ ।

यीनै माग पुरा गराउन संघीय गठबन्धनले जेठ १ देखि घोषित सिंहदरबार घेराउ कार्यक्रममा सहभागि हुने निर्णय गरेको हो । सिंहदरबार घेराउ कार्यक्रममा किरात राज्य संघर्ष समितिले पाएको क्षेत्र (आर्क)मा दैनिक सडक आन्दोलनमा रहने किरातीले जानकारी दिएका छन् । किराती वर्तमान केपी ओली सरकारको विरोधमा छन् । महंगी नियन्त्रण गर्न नसकेको, भूकम्प पीडितलाई समयमा राहत वितरण र पुननिर्माण गर्न नसकेको, आफै कालो बजारीमा संलग्न भएकोभन्दै वर्तमान सरकार तुरुन्त विघटन गर्नुपर्ने विचार राख्दै आएका छन् ।

मधेशी, थारुवान, मुश्लिम, आदिवासी जनजाति लगायतको माग सम्बोधन गर्नुपर्ने विचार राख्दै आएका किराती सिंहदरबार घेराउ कार्यक्रममा दमन भए आफै गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग भिड्न तयार रहेको बताएका छन् ।

संघर्ष समितिको हिजो बसेको बैठकले आन्दोलन सशक्त बनाउन आठ उपसमिति गठन भएको छ । संघर्ष समितिका संयोजक किरातीले किरात स्वायत्त राज्य चाहने सम्पूर्ण महानुभावहरुलाई संघर्षमा उत्रिन अपिल गरेका छन् । आन्दोलनमा सहभागिताको साथै देश विदेशमा रहेका किरात राज्य चाहने समुदायलाई आर्थिक, नैतिक, भौतिक लगायतको सहयोग गर्न आव्हान गरेका छन् ।

Facebook Comments

Leave a Reply