सिकार आरक्षको सुरक्षामा सेना

एविसि खबर
बागलुङ, २६ वैशाख । ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ नेपाली सेना खटिएको छ । चोरी सिकार, अतिक्रमणजस्ता अवैध कार्य रोक्न सरकारले सेना राखेको हो । नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु निर्देशनालयमार्फत हनुमान ध्वज गुल्म आरक्ष क्षेत्रमा पुगेको छ । मन्त्रिपरिषद्ले सेना राख्ने निर्णय गरेको दुईवर्षपछि आरक्षमा सेना परिचालित भएको हो ।

स्थानीय आदीवासी समुदायको चर्को विरोधका बावजुद सरकारले त्यहाँ सेना पठाएको हो । जल जंगल र जमिनमा आफ्नो पहँुच सुरक्षित हुनुपर्ने माग राख्दै ढोरपाटन आरक्षमा स्थानीयले सेनाको उपस्थिती अस्विकार गरेका थिए । उनीहरुले आफैले सो क्षेत्रको सरंक्षण गर्न सक्षम भएको भन्दै सेनाको आवश्यकता नरहेको बताएका थिए । तर सरकारले जर्बजस्ति गरेको भन्दै आन्दोलनको तयारी सुरु गरेको छ ।

हाल बन्दोबस्तीसहित ८० जना आरक्षमा तैनाथ भइसकेको र बाँकी अर्कोसातासम्म आइपुग्ने क्याप्टेन असीम श्रेष्ठले जनाएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले वन मन्त्रालयमार्फत तीन वर्षअघि नै आरक्षमा सेना खटाउन माग गरेको थियो ।

आरक्षको सुरक्षा र संरक्षणमा सेना राखेर सरकारले उपयुक्त कदम चालेको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष हातामा यसअघि सुरक्षाको नाममा एउटा प्रहरी चौकी र आरक्षका कर्मचारीमात्र थिए । दुर्लभ वन्यजन्तुको वासस्थान रहेको ढोरपाटन क्षेत्रमा तस्कर सक्रिय रहेकाले सेना परिचालनले तिनीहरु निरुत्साहित हुने ठानिएको छ ।

आरक्षमा नाउर, कस्तुरी, मृग, घोरल, झारल, बँदेल, भालु, डाँफे, मुनाललगायतका जनावर र पक्षीको लुकीछिपी सिकार हुँदै आएको छ । सिकार (ब्लक)हरुमा वन्यजन्तुका छाला, सिङ तथा स–साना हतियार फेला पर्ने गरेको आरक्षका कर्मचारी बताउँछन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment