करोडौँ मूल्यको सिलाजित जङ्गलमै ?

एविसि खबर
म्याग्दी, २६ वैशाख । आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न सकिने बहुमूल्य सिलाजित उत्खनन हुन नसक्दा जंगलै अलपत्र परेको छ । प्राविधिक ज्ञान र उपकरणको अभावका साथै सम्बन्धित पक्षको बेवास्ताका कारण म्याग्दीका भिरपहरामा पाइने सिलाजित बजारमा ल्याउन नसकिएको हो ।

सिलाजित उत्खनन गरी उपभोग गर्नेतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेपछि बर्सेनि करोडाँैको नोक्सानी भइरहेको छ । म्याग्दीका बाबियाचौर, ज्यामरुककोट, भकिम्ली, कुइनेमङ्गले, मुदी, मुना, ताकम, मराङ, बिमलगायत गाविसका पहरामा सिलाजित पाइन्छ । सिलाजित उत्खनन गर्नेतर्फ सम्बन्धित पक्षले चासो नदेखाउँदा स्थानीयवासी निराश भएको ज्यामरुककोटका शिवराम शर्मा बताए । नुनिलो र टर्रो स्वाद हुने सिलाजित भिरपहरामा मात्र पाइन्छ । सिलाजित कालो र सेतो गरी दुई किसिमका हुन्छन् । पहराबाट निस्किएको एक प्रकारको रसायन जमेर बन्ने पदार्थलाई सिलाजित भनिन्छ ।

कालो सिलाजितको रस नियमित सेवन गर्नाले धातु, गानोगोला, ग्यास्ट्रिक, नशासम्बन्धी रोग निको हुने जनविश्वास छ । सिलाजितको नियमित प्रयोग गर्नाले स्वास्थ्यका लागि निकै फाइदा पुग्ने जिल्ला आयुर्वेदिक चिकित्सकहरुले बताएका छन् । सिलाजित उत्खनन हुनसक्ने हो भने म्याग्दीमा वार्षिक १० करोडसम्मको सिलाजित बिक्री हुन सक्ने प्रवल सम्भावना रहेको भए तापनि प्राविधिक ज्ञान र उपकरणको अभावमा यो खेर गइरहेको उद्योगी व्यापारीहरुको भनाइ रहेको छ ।

बजारमा माग भए पनि उत्खनन गर्ने आधुनिक सीप र प्रविधिको अभावमा सिलाजित खेर गइरहेको जिल्ला विकास समिति म्याग्दीले जनाएको छ । बजारमा प्रतिदशग्राम सिलाजित २५ देखि ३० रुपैयाँ सम्ममा बिक्री हुनेगरेको पाइन्छ । तर जडीबुटीको असन्तुलित व्यापारका कारण लगानीकर्ता यसतर्फ आकर्षित हुन नसकेको जिल्ला वन कार्यालय म्याग्दीले जनाएको छ । वन कार्यालयका अनुसार जिल्लाबाट न्यून मात्रामा मात्र सिलाजित निर्यात हुने गरेको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment