कुटपिट तथा यौन दुव्र्यबहार पछि जर्बजस्ती मिलापत्र

एविसि खबर
खोटाङ, २५ वैशाख । दिक्तेलस्थित एक होटलमा काम गर्ने मजदुर महिला र उनकी नाबालिका छोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यबहारको घटना जबरजस्ती मिलापत्र गराइएको छ । घरेलु हिंसामापरि घरबाट निकालिएपछि दिक्तेलमा शरण लिएर बसेकी महिला र उनकी छोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यबहारको घटना पीडितलाई दबाब दिएर मिलापत्र गराइएको पाइएको हो ।

काठमाडौं माइती भइ खोटाङको चिउरीडाँडा घर भएकी महिला तथा उनकी छोरीलाई दिक्तेल–२, स्थित होटल शुभदिनका सञ्चालक हरिप्रसाद आचार्य र प्रबन्ध निर्देशकका छोरा कविराज रिजालले वैशाख १४ कुटपिट तथा यौन दुव्र्यबहार गरेका थिए । घटनाको विषयमा जिल्लास्थित महिलाअधिकारकर्मीहरु लगातार पीडितको पक्षमा लागेको भएपनि पीडितले न्याय पाउन नसकेकोप्रति जिम्मेवार व्यक्तिहरु निराश भएका छन् ।

महिलाको रक्षाको कुरा गर्नेहरु नै भक्षक भएर निस्किएपछि हामीले केही गर्न नसकिएको एकीकृत नेकपा माओवादी निकट महिला संगठनका निशाना राईले बताएकी छन् । “पीडकले हामीलाई पनि सबै मिलेर मिलाउँ भन्दै थिए ।” उनले भनिन्, “हामीले कारबाही हुनुपर्छ भनेपछि पीडितलाई अनेक प्रलोभन देखाएर मिलापत्र गराइएको रहेछ ।”

पीडित महिलाले २०६९ सालमा चिउरीडाँडा गाविस–८ का गणेश तामाङसँग विवाह गरेकी थिइन् । पतिले घरमा छाडेर काठमाडांै गइ बसेपछि घरका सासू, जेठानी दिदी लगायतले खान लाउन नदिइ घरबाट निकाला गरेपछि पीडित महिला दिक्तेलस्थित बालसेवा समाज नेर्पा खोटाङको संरक्षणमा बसेकी थिइन् । उनलाई केही महिनाअघि मात्र उक्त होटलमा लगिएको थियो ।

गत माघ २३ गतेदेखि उक्त होटलमा कार्यरत ती महिलालाई सञ्चालक आचार्यले यौन आशयले जिस्क्याउने, सम्बेदनशिल अङ्गहरु छुने गरेको उजुरीमा उल्लेख छ । निर्देशकका छोरा कविराजले नाबालिका छोरीलाई ललीपप देखाउँदै एक्लै कोठामा लगेर नाङ्गै बनाएर यौनाङ्ग खेलाउने तथा यौनाङ्गमा टोकेर घाउसमेत बनाइ दिएको निवेदनमा उल्लेख गरिएको छ ।

होटलमा उक्त घटनाहरु घटिरहँदा पीडित महिलालाई होटलमा बस्न आएका एक ग्राहकको मोबाइल चोरेको आरोप लगाइ होटलका प्रबन्ध निर्देशक रिजालकी पत्नी कोपिलादेविले रातको समयमा कोठामा थुनी अन्य मजदुरहरुलाई कुटपिट गर्न लागाएकोसमेत निवेदनमा उल्लेख गरिएको छ । घटनाको विषयमा जिल्लास्थित महिला अधिकारकर्मीहरु दुई ठाउँमा विभाजितसमेत भएका छन् ।

एक पक्षीय महिलाहरुले घटनालाई कोठाभित्रै मिलाउने प्रयत्नमा लागेका थिए । उनीहरुको पक्षमा सरकारी तथा गैससका मान्यगन्य व्यक्तित्व साथमा छन् । अर्को पक्षीय महिलाहरु अपराधीलाई कारवाहीगरि पीडितलाई न्याय दिलाउने पक्षमा छन् । उनीहरुको पक्षमा कमजोर व्यक्तित्व रहेका छन् ।

घटनाको विषयमा भएको छलफलमा एक सहभागीका अनुसार निर्देशक रिजालले पीडित महिलालाई घटनाको विषयमा मुद्दा दिएमा पीडितका पुराना कुराहरुसमेत निकालेर बेइज्जत गरिदिने धम्कीपूर्ण कुरा गरेका थिए । निर्देशकको कुरा सुनेपछि ती महिलाले हाल घाउ जाँच केश फारम गराउनभन्दा अन्य कानूनी प्रक्रिया अघि बढाएकी छैनन्् ।

पीडितले प्रहरीमा दिएको घाउ जाँच केश फारमको निवेदनको आधारमा अस्पतालको तर्फबाट जाँचगरि प्रहरीलाई पठाएको जिल्ला अस्पताल खोटाङका डाक्टर टंक कार्कीले बताए । पीडितको घाउ जाँच केश फारम कार्यालयमा आइपुगेको तर, सो फारमको आधारमा आरोपितलाई कारबाही गर्न नसकिने प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए ।

घटनाको विषयमा महिला अधिकारकर्मी पूर्णमायाँ तामाङले अभियोग लागेका अभियुक्तलाई कानूनी कारबाहीगरि पीडितलाई न्याय दिनुपर्ने बताउनुभएको छ । हाल पीडित महिला र छोरी एमाले खोटाङकी जिल्ला कमिटि सदस्य संगिता राईको साथमा रहेकी छन् ।

महिला अधिकारको क्षेत्रमा समेत कार्यरत एकीकृत नेकपा माओवादीकी नेतृ तथा पूर्व सभाषद् दुर्गाजयन्ती राईले पीडितमाथि हदैसम्मको अन्याय भएको भएपनि सरकारी तथा गैरसरकारी निकायको सही सहयोग नपुग्दा आरोपितले उन्मुक्ति पाइरहेको बताइन । “अत्यन्तै गम्भीर प्रकृतिको यस घटनाको ढाकछोप भएको छ ।” उनले भनिन, “यसमा कानून व्यवसायीदेखि सरकारी अधिकारीसमेत संलग्न छन्, पीडितको पक्षमा हामी लडिरहन्छौं ।”

घटनाको विषयमा दुवैपक्षबीच छलफलको आयोजना गरेर पीडित महिलाको स्कीकृतिमा मिलापत्र गराइएको संगिताले जानकारी दिएकी छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment