म सँगको पारिजात

अरुणिमा

पूर्ण विराम

“यहाँ जताततै छरिएका छन् करेन्टहरुमा
एउटा तिम्रो अन्त, एउटा मेरो अन्त…………”
सर्वहारा वर्गको अधिनायकत्व स्थापनार्थ एउटा जिम्मेवारी बोक्नुपर्ने सजग साहित्यकार हुनु अगाडिको पारिजातको उपरोक्त अभिव्यक्ति कुन हालतमा सिर्जित भएको हो यस बारेमा मैले उहाँसँग प्रश्न राख्नु उचित ठानिनँ । पारिजातलाई मैले भेटेपछि देशको वर्तमान लगायत सुदुर भविष्यसम्म उहाँको आवश्यकता रहने बोधको महसूस मलाई प्राप्त भयो । यो प्राप्तिलाई न त वर्तमान राजनैतिक प्रणालीले ध्वस्त गर्न सक्यो, न त अलिकति केही सुधारका कुराहरुमा चित्त बुझाउने प्रक्रियाले नष्ट गर्न सक्यो । पारिजातको सम्पर्कमा आएपछि ममा जुन बोध उत्पन्न भयो त्यो मैले प्राप्त गरेको सबैभन्दा महान् सम्पत्ति हो, जसलाई मैले जस्तोसुकै वीभत्स अवस्थामा पनि सुरक्षित राख्न सक्नुपर्छ । वर्तमान समयमा बाँच्ने आधार भनेको पनि पारिजातको सम्पर्कमा मलाई प्राप्त भएको बोध नै हो भन्न मैले हिचकिचाउनु हुन्न ।

पारिजातलाई रचनाका सीमान्तमा राखेर हेर्ने थुप्रै आलोचकहरु छन् । एउटा ठूलै पेशाको द्वार पारिजातले नेपाली साहित्यमा खोेलेर जानुभएको छ, तर मैले पारिजातलाई रचनाका सीमानाभन्दा बाहिरबाट दृष्टि निरीक्षण गर्ने अवसर पाएको छु र मलाई लागेको छ पारिजातले चाहेको देशमा एउटा ठूलै विप्लव मच्चिएको छ । लिशाओचीहरुले बडो नाटकीय ढंगमा हँसिाय हथौडा अंकित झण्डा आफ्नो कब्जामा लिएका छन् र धुँवाको बाक्लो आक्रमणमा पारिजातको आँखामा रहेको देश मेरो अगाडि हराएको छ । उहाँको सम्पर्कलाई उहाँ जीवित नरहेको धारणा अन्तर्गत सल्काएर खरानी बनाइदिने हो भने म परिवर्तनका निम्ति परिवर्तन रोक्ने घातक अस्त्र हुनेछु,जुन कुरा मेरो मानसिक सन्तुलन संतुलित अवस्थामा रहेसम्म मलाई स्वीकार्य हुने छैन । पारिजातसँगको भेटघाटमा मृत्युको लामो व्याख्या छ । ल्यूकनले फुल्टिन समातेर अविराम गतिमा लेखिरहे पनि यदि ल्यूकनले निरोको समर्थनमा लेख्न थालेको छ भने ल्यूकन मरेको घोषणा पारिजातले गर्नुभएको मृत्युको व्याख्याभित्र अटाएको छ । पारिजातले गर्नुभएको मृत्युको व्याख्याभित्र म अटाउँदिन । पारिजातलाई ममाथि विश्वास छ र मैले उहाँमाथि विश्वासघात गर्नुभन्दा यहाँनिर लेखनलाई सदाका लागि स्थगन गर्नु उपयुक्त हुन्छ ।

पारिजात कुन सालमा उज्यालो चाहने गुफाभित्र चट्टान भएर पस्नुभयो अनि अग्रगामी चेतना विस्तार गर्ने अभिप्रायमा आफ्नो जीवनलाई समर्पित गराउनुभयो ? यो मैले उहाँमाथि राख्नुपर्ने प्रश्न थियो भन्ने ठहर मैले गरिनँ । शुक्ल पक्षलाई तिरस्कार गरेर कृष्ण पक्षको निम्ति हाडनाताकरणीसमेत गर्न पछि नपर्ने मानिसहरुप्रति शंकाको दृष्टिले हेर्नुपर्ने पारिजातको आग्रहलाई समयमै मैले आफूमा समाहित गर्न सकेको भए वर्तमानमा म घण्टाघरद्वारा थिचिएको एउटा भीषण पीडा बोध बोकेको अवस्थाभित्र अलमलिनुपर्ने थिएन । छेपाराका एउटा लामो फेहरिस्त उहाँले दिँदादिँदै पनि त्यो फेहरिस्तलाई गम्भीर विश्लेषण गरेर हेर्न नचाहेको सन्दर्भ मार्फत मलाई उपलब्ध भएको पीडाप्रति म आफैँलाई जिम्मेवार ठह¥याउँछु । पारिजातले मसँग व्यक्त गर्नु भएको संवादको प्रामाणिक आधार म बाहेक कोही पनि होइन । उहाँको मत अन्यका अगाडि संसदीय व्यवस्था अँगाल्ने प्रारुपमा प्रस्तुत भएको भए पनि मेरो निम्ति त्यो विश्वासयोग्य पारिजातले राख्नुभएको मत थिएन । उहाँको मत मेरो अगाडि गणतन्त्र नेपालको निम्ति थियो र यो उहाँद्वारा कुन समयमा ममाथि प्रदान भयो, यसको बारेमा मैले इतिहास लेख्नु छैन, यसर्थ मितिको बारेमा म प्रष्ट हुन अनिवार्य छ भन्ने देखिँदैन । गणतन्त्रका निम्ति वैधानिक आचरणको भूमिकाले कति हदसम्म आंशिक रुपमा निर्वाह गर्न सक्छ भन्ने छलफल यहाँ र मेरो बीचमा चल्न सकेन । गणतन्त्रका निम्ति जन युद्धलाई नै प्राथमिकता दिने वा जन संघर्षलाई प्राथमिकता दिने यस विषयमा पनि उहाँसँग वार्तालाप हुन पाएन । पारिजातसँग कुरा गर्न नभ्याएको धेरै विषयमध्ये यो पनि प्रमुख विषय थियो ।

वैचारिक रुपमा मेरा कथाहरु क्षतविक्षत रहँदा अब पूर्ण विरामले कलम थन्क्याए पनि हुन्छ भन्नु हुने पारिजातले मेरो ‘इतिहासका किल्लाहरु’ नामक पुस्तकभित्रका कविताहरुलाई युगिन दस्तावेजहरु हुन् भनेर मलाई लेखकीय जिम्मेवारीमात्रै सुम्पिनु भएन, मलाई मात्रै सजग गराउनु भएन, पाठकहरुलाई मेरा कविता पढ्ने द्वार पनि खुल्ला गरिदिनुभयो । पारिजातलाई मैले मेरो सिर्जनाको सीमानाभित्र राखेर हेर्दा मैले उहाँलाई महान् ठान्नुपर्ने आधारहरुले प्रमुख भूमिका निर्वाह गर्छन् । उहाँले मलाई प्रदान गर्नु हुने स्नेहका संवादहरु मैले लेखेका कतिपय कविताका पंक्ति नै समेत बनेका छन् । उहाँको सिङ्गो सुन्दर आचरणबाट प्रभावित भएर मद्वारा कतिपय कविता सिर्जित भएका छन् । उहाँको कोठामा रहेको एउटा चित्र जसमा एउटा चित्र जसमा एउटा बच्चाले चन्द्रमालाई हेरिरहेको छ, त्यो चित्र नै मेरो निम्ति कविता बनेको पनि छ । पारिजातले ग्रहण गर्नु भएको सुन्दर विचारलाई ममाथि राख्नका निम्ति उहाँले आदेशात्मक अवधारणा प्रस्तुत गर्नुको साटो आग्रह गर्ने मार्ग उहाँले अवलम्बन गर्नु भएको थियो । उहाँले आग्रह गर्ने हो भने म जत्रोसुकै विध्वंश गर्न समेत तयार थिएँ । उहाँले मलाई हाते बम दिएर ‘पूर्ण विरामजी, यो लगेर फलानो ठाउँमा हान्नोस्’ भन्नु भएको भए पनि म तयार हुन सक्ने अवस्थामा थिएँ । व्यक्तिगत जीवनमा मसँग कतिपय मानिसहरु सम्पर्कित भए तर सबैको आग्रह म मान्न नसक्ने अवस्थाबाट गुज्रेको छ । तर पारिजातको आग्रह, जसलाई मान्न म तयार थिएँ । त्यो उहाँले ममाथि गर्नु हुने स्नेहको कारणबाट उत्पादन हुने तयारी थियो । उहाँका कैयौँ आग्रहमध्ये प्रज्ञा प्रतिष्ठानलाई रचनाहरु नदिएर बहिष्कार गर्नुपर्ने एउटा आग्रह पनि थियो । त्यो उहाँको आग्रह म अझै पालना गरिरहेछु । त्यस्ता कैयौँ आग्रहहरु छन्, जसका निम्ति म कठोर बन्न समेत अझै तयार छु ।

पारिजातको सम्पर्कमा मलाई डो¥याएको मेरो कविता ‘फूलको कविता, शब्दको रमिता’ जसलाई ‘उत्साह’ ले छाप्ने जस्तो साधारण कार्य मात्रै गरेन सो कविताा उत्साहमा छापिएको कारणले नै म पारिजातसमक्ष कवि बनेर उभिन सकेँ र पारिजातको अर्थलाई आयुर्वेद विज्ञानमा श्वेत कुष्ठ र चर्म रोग निवारकसम्म बुझेकोमा अन्य नव अर्थमा समेत बुझ्न सक्षम भएँ । पारिजात साँध लगाउने एउटा ढुङ्गा हुनुहुन्थ्यो र म एउटा भुत्ते खुकुरी । जतिपल्ट मैले पारिजातलाई भेटेँ त्यति पल्ट मेरो धार चम्किलो र सुदृढ हुँदै गयो । पारिजातसँगको भेटमा ममाथि उहाँद्वारा कहिल्यै असम्मान व्यक्त भएन । मैले उहाँलाई नेपाली कथामा नेपाली शब्द रहँदारहँदै अंग्रेजी शब्द प्रयोग नगर्ने अनुरोध पनि गरेँ । उहाँले यस कुरालाई सम्मानका साथ लागू गर्न कोशिस गर्ने वचन दिनुभयो ।

पारिजातसँगको कुराकानीको प्रसङ्गमा त्यसो त विविध विषयहरु समावेश छन् । तिनको सम्पूर्ण चर्चा गर्नु सम्भव पनि छैन र आवश्यकता पनि महसुस गरिएको छैन । मिस्रको पिरामिडदेखि चीनको विशाल पर्खालका विषयमा पनि कुरारु भएका हुन् । राजनीतिज्ञ मोहनविक्रम सिंहदेखि लिएर निर्मल लामासम्मका राजनैतिक अभियानका विषयमा कुराहरु भएका हुन् । कवि ललिजन रावलको ‘क्रामवेल छिटो हुर्क’ भन्ने अत्यन्तै उत्कृष्ट कवितादेखि लिएर गजानन माधव मुक्तिबोधका कविताहरुसम्म कुराकानी नभएका होइनन् । कामरेड जलजलादेखि लिएर शहीद रत्नकुमार वान्तवासम्म हाम्रा कुराहरु भएका छन् । उहाँको कुराको सार विना हतियार सर्वहारा वर्ग राज्य संचालनको केन्द्रमा पुग्न सक्दैन, पुगिहाले पनि सर्वहाराको अधिनायकत्व नभएर अन्यको अधिनायकत्वमा सर्वहारा रहन्छ ।

पारिजातलाई मैले भेटेको र सम्पर्क बढेको आधारलाई ईमानदारपूर्वक मैले विश्लेषण गर्ने हो भने उहाँ सर्वहारा राज्य स्थापनार्थ खटिनु भएको एउटी वीरागंना हुनुहुन्थ्यो भन्ने कुरा मैले निःसंकोच व्यक्त गर्नु उचित हुन्छ । अब पारिजातलाई जे जस्तो बनाउन खोजे पनि बनाउनका निम्ति मानिसहरु स्वतन्त्र छन् । प्रतिक्रियाबाट पारिजात विमुख भइसक्नुभएको छ । तर म पारिजातलाई आफूसँग गरेका कुराहरुका आधारमा नेपाललाई गणतन्त्रात्मक स्वरुपभित्र हेर्न चाहने आदरयोग्य रुपमा हेर्न खोज्छु । समग्रमा या सारांशमा पारिजातको निम्ति मैले निष्कर्ष निकाल्नु पर्दा पारिजातको मृत्यु भएको कुरा म स्वीकार्दिँन । पारिजातको मृत्यु प्रकृतको सामान्य प्रचलित नियमबाट हुनै सक्दैन । उहाँको मृत्यु हुन ठूलै प्रलयको आवश्यकता रहन्छ । सम्पूर्ण देवनागरी लिपि मेरो अगाडिबाट विलुप्त हुनुपर्छ, खस भाषा या अन्य देशान्तरका भाषा समेत विघटित भएर नष्ट हुनुपर्छ । पारिजात अहिले मेरो माझमा हुनुहुन्न यो पनि म सोच्न सक्दिनँ अझै पनि जब म कविता लेख्न बस्छु पारिजातलाई गम्भीर पाठक ठहर गरेर बस्छु र पारिजातसँग भेट हुने संभावना अहिलेसम्म निस्तेज भएको छैन ।

 

 

 

Facebook Comments

Leave a Reply