यांग्री र लार्केपनि मेलम्चीमा मिसाइने

एविसि खबर
काठमाडौं, १७ वैशाख । सिन्धुपाल्चोकको यांग्री र लार्के खोलालाई पनि मेलम्ची खानेपानीअन्तर्गत मिसाइने भएको छ । राजधानीमा मेलम्ची खोलाको पानीले मात्र नधान्ने भएपछि सरकारले यांग्री र लार्के खोलाको पानी मेलम्ची परियोजनामा मिसाएर ल्याउन लागेको हो ।

यो २ खोलाका पानी मेलम्चीमा मिसाउने काम १ वर्षमा सुरु हुनेछ । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार मेलम्चीमा यांग्री र लार्के खोलाको पानी मिसाउने काम ३ वर्षभित्र सकिनेछ । यी २ खोलाबाट थप ३४ करोड लिटर पानी राजधानी भित्रिनेछ । मेलम्चीसँगै यी २ खोलाको पानी आएमा राजधानीमा दैनिक ५१ करोड लिटर पानी भित्रिनेछ । काठमाडौंमा दीर्घकालीन रूपमा खानेपानीको अभाव पूरा गर्न अर्को वर्षदेखि मेलम्ची खानेपानीको क्षमता विस् तारका लागि यांग्री र लार्के खोलाको काम अघि बढाउन आयोजनाले तयारी गरेको हो । यांग्रीबाट लार्के र लार्केबाट मेलम्चीमा मिसिएर काठमाडौं भित्रने आयोजना तेस्रो चरणअन्तर्गतको कामको रूपमा अघि बढ्नेछ ।

यो तेस्रो चरणको कामपछि मेलम्चीको क्षमता तेब्बरले बढ्नेछ । २ खोलाको पानी मिसाएर ल्याउन २१ अर्ब २० करोड रूपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उनका अनुसार प्रारम्भिक अध्ययन तथा पूर्वाधारको तयारीको काम भइरहेको छ । उनले भने,’ अहिले जग्गा उपलब्ध गराउने, बाटो खोल्नेलगायत कामहरू भइरहेको छ ।’ लार्के र यांग्री खोला आयोजनाका लागि परामर्शदाता छनोटको तयारी भइरहेको भट्टराईले बताए । मेलम्ची खानेपानी आयोजनाको सुरुआतसँगै एसियाली विकास बैंकसँग यो मिसाउने बारेमा छलफल भएको थियो । ‘यो पूर्वनिर्धारित कार्यक्रम भित्रकै हो’, उनले भने, ‘मेलम्ची आयोजनाको २ चरणका काम सम्पन्न भइसकेपछि यसलाई नयाँ चरणको रूपमा सुरु गर्नेछौँ ।’

मेलम्चीको मुल स्रोतबाट यांग्री र लार्के खोलासम्म करिब १२ किलोमिटरको दुरी छ । मेलम्चीबाट काठमाडौंमा दैनिक १७ करोड लिटर परिमाणमा पानी भित्राउने आयोजनाको लक्ष्य छ । मेलम्ची आयोजनाअन्तर्गत २ वटा चरणका काम भइरहेका छन् । तेस्रो चरणअन्तर्गतको यांग्री र लार्के खोलाबाट दैनिक १७÷१७ करोड लिटरको दरले मेलम्चीमा मिसाएर तेब्बर परिमाणमा काठमाडौंमा पानी भित्रने काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । मेलम्चीबाट सुन्दरीजलसम्मको २७ दशमलव ५ किलोमिटर सुरुङ निर्माणमध्ये १५ किलोमिटरको काम सम्पन्न भएको छ । अब करिब १२ किलोमिटर सुरुङ निर्माणको काम भने बाँकी रहेको छ ।

Facebook Comments

सम्बन्धित

Leave a Comment