विद्यार्थीको निम्ति अक्षयकोष

एविसि खबर
पाँचथर, १७ वैशाख । फिदिमको विद्या वरदान इङलिस बोर्डिङ स्कुलमा जेहेन्दार विद्यार्थीलाई प्रोत्साहन गर्न उक्त विद्यालयकी संस्थापक बुद्धमाया माखिमले अक्षयकोष स्थापना गरेकी छन् । बुधबार विद्यालयमा आयोजित कार्यक्रममा बुद्धमायाले एक लाख रुपैयाँ रहेको अक्षयकोष आफ्नै नाममा स्थापना गरेको घोषणा गरेकी छन् ।

जिल्लाकै विद्यालयमा कार्यालय सहयोगीका रूपमा काम थालेकी उनले आफ्नै पहलमा तत्कालीन रानी ऐश्वर्यको हुकुमबाट २०४४ सालमा उक्त विद्यालय स्थापना गर्ने अनुमति लिएका थिए । पछिल्लो समयमा काठमाडौँमा बस्दै आएकी उनले आफ्नै छोरा एवम् विद्यालयको पहिलो विद्यार्थी जयराज माखिमको सहयोगमा उक्त अक्षयकोषको स्थापना गरेकी हुन् । उनले आफूले स्थापना गरेको अक्षयकोषमा थप रकम जम्मा गर्दै लैजान विद्यालय सञ्चालकलाई आग्रहसमेत गरिन् ।

स्थापित अक्षयकोषबाट प्रत्येक वर्ष कक्षा ५, ८ र १० मा उक्त विद्यालयबाट उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत गरिने विद्यालयका सञ्चालक चन्द्रप्रसाद भट्टराईले बताए । अक्षयकोषको वृद्धि गर्ने जनाउँदै भट्टराईले प्रोत्साहन पुरस्कारबाट विद्यालयका विद्यार्थीले अझ राम्रो नतिजा ल्याउन सक्ने विश्वास लिइएको बताए । जिल्ला शिक्षा अधिकारी राजकुमार विकले माखिमले स्थापना गरेको अक्षयकोष सम्झन योग्य काम भएको बताउँदै अक्षयकोषलाई वृद्धि गर्दै लक्षित विद्यार्थीलाई पुरस्कृत गर्न आग्रह गरे ।

Facebook Comments

सम्बन्धित

Leave a Comment