रहेनन् पत्रकार क्षेत्री

एविसि खबर
काठमाडौं, १७ वैशाख । गएराति निधन भएका पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको शुक्रबार दिउँसो अन्त्येष्टि गरिने भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा बिहीबार साँझ उपचारका लागि लगिएका उनलाई ८ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । उनी ३३ बर्षका थिए ।

काठमाडौँ उपत्यका बाहिरबाट क्षेत्रीका पिता आउन समय लागेकाले राति पार्थिव शरीर शिक्षण अस्पताल महाराजगन्जमा राखी आज बिहान ९ बजे कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि २ घन्टा राखी अन्त्येष्टि गरिने भएको छ । विसं २०७१ मङ्सिरमा ‘ब्रेन ट्युमर’को शल्यक्रिया गरिएका क्षेत्री नियमित औषधि र चिकित्सकको परामर्शमा रहनुभएको थियो । नेपाल प्रेस युनियनका सचिव रहेका क्षेत्रीले शिक्षा र रङ्गमन्च पत्रकारिता गर्नुका साथै गीत लेखनमा आफूलाई सक्रिय बनाएका थिए ।

स्याङ्जा स्थायी घर भएका उहाँले पाल्पाबाट रेडियो पत्रकारिताको यात्रा थालनी गरेका हुन् । केही वर्ष उज्यालो राष्ट्रिय नेटवर्कमा आबद्ध उनी पछिल्लो समय उनले आफ्नै परिकल्पनाको नेपाली कलाडटकममा सम्पादक रहेका थिए ।

क्षेत्रीका ‘धोका दिनेलाई के भनौँ र खै’, ‘लालुपाते नुग्यो भुइँतिर’, ‘उडी जाने जेट’, ‘यसपाली नि आउन पाइनँ’ ‘औँठी चिनो छ’, डाली पलायो’, ‘धानको सिरौला’ आदि लोक तथा आधुनिक गीत चर्चित छन् । क्षेत्रीका माता, पिता, श्रीमती र एक छोरा छन् ।

Facebook Comments

सम्बन्धित

Leave a Comment