जलवायु परिवर्तनबारे अन्तरक्रिया

एविसि खबर
मोरङ, १७ वैशाख । जलवायु परिवर्तनले समग्र कृषिक्षेत्रमा परेको प्रभाव र त्यसको न्यूनीकरण सम्बन्धमा विराटनगरमा बिहीबार कृषि सञ्चारकर्मी, पत्रकार, वातावरण विज्ञ र कृषि सूचना अधिकृतबीच अन्तरक्रिया सम्पन्न भएको छ । कृषि सूचना तथा सञ्चार केन्द्र तथा जलवायु प्रकोप समुत्थान निर्माण आयोजनाले गरेको कार्यक्रममा सहभागीले जलवायु परिवर्तनले दिनप्रतिदिन तापक्रम बढेकै कारण कृषि, पशुपालन, वन तथा माछापालनमा ठूलो प्रभाव परेकाले त्यसतर्फ समयमै ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

जलवायु परिवर्तनका कारण तराईमा ०.०४ डिग्री तथा हिमाली जिल्लामा ०.२८ डिग्री सेल्सियसले तापक्रम बढेको सो अवसरमा जानकारी गराइएको थियो । कार्यक्रममा वातवरण विज्ञ एवम् प्राध्यापक डा अर्जुनकुमार बराल, पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय, विराटनगरका वरिष्ठ अधिकृत बद्रीप्रसाद दहालले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्दै जलवायु परिवर्तनका कारण देखिएको समस्या समाधानका लागि बहुबालीको प्रयोग, रासायनिक मलको कम प्रयोग तथा मौसमको पूर्व अनुमानबारे कृषकलाई जानकारी गराउनुका साथै हावापानी सुहाउने बालीनाली लगाउनुपर्नेमा जोड दिए ।

Facebook Comments

सम्बन्धित

Leave a Comment