खानेपानीको हाहाकार

समाज

संगीता राई
खोटाङ, १६ वैशाख । खोटाङको उत्तरी गाविस बाक्सिलामा खानेपानीको अभाव रहेको छ । नजिकमा रहेको खानेपानीको मुहान तथा कुवा सुकेपछि बाक्सिलास्थित बुद्धबजारमा पानीको हाहाकार भएको हो ।
बजारमा खानेपानी नभएपछि डेढ घण्टा टाढा रहेको हल्खुमबाट टयाक्टरमा बोकाएर ल्याएको पानी उपभोग गर्नुपर्ने बाध्यता रहेको स्थानीयवासी कुन्ती गुरुङले जानकारी दिए । खानका लागि त ट्र्याक्टरमा बोकाएर ल्याएको किनेर भएपनि खाइँदैछ । उनले भनिन्, ‘चर्पीमा प्रयोग गर्न र लुगाफाटा धुन ज्यादै समस्या भएको छ ।’

वर्षदिनअघि मात्र सञ्चालनमा आएको बाक्सिला–सप्तेश्वर खानेपानी आयोजना गत चैतबाट बन्द भएको उपभोक्ता समितिका सचिव रोशन श्रेष्ठले जानकारी दिए । ‘आयोजना सञ्चालन हुँदा सबै धारामा राम्ररी पानी आउँथ्यो’ उनले भने, ‘गत चैतबाट सबै धारा ठ्याप्प भएको छ, बजारको खानेपानी समस्या समाधान गर्न मुहान खोजी गर्ने क्रममा छौँ ।’

हरेक बुधबार ठूलो हटिया लाग्ने बाक्सिलामा खानेपानी अभाव भएपछि बजार क्षेत्रमा दुर्गन्ध फैलिएको छ । बजारमा किनमेलका लागि आउने सेवाग्राही तथा स्थानीयवासीले फोहर गर्दा बजार क्षेत्रमा फोहर फैलिएको हो । बजारमा फैलिएको फोहर समयमै व्यवस्थापन गर्न नसकेमा पखालाजस्ता रोगको महामारी फैलन सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । यसप्रति बेलैमा सचेत रहन स्वाथ्यकर्मीको सुझाव छ ।

गर्मी मौसम भएको समयमा पर्याप्त पानीको आवश्यकता पर्ने भए पनि बाक्सिला क्षेत्रमा खानलाई समेत धौधौ भएको स्थानीयवासी कृष्णकुमार राईले बताए । ‘मान्छेको लागि त बोकाएर ल्याएको भए पनि उपभोग गर्दैछौँ, पशुचौपायाको कन्तबिजोग भयो ।’ उनले भने ।

खानेपानी अभावमा बाक्सिलास्थित पृथ्वी उच्च माविलगायत आसपासका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत समस्या भएको स्रोतले जनाएको छ । विद्यार्थीले खाना तथा चर्पीमा प्रयोग गर्न घरैबाट पानी बोकेर लैजाने गरेका छन् ।

Facebook Comments

Leave a Reply