१४४ जना फरार प्रतिवादी पक्राउ

विवेक राई

भोजपुर, १६ वैशाख । जिल्ला अदालत भोजपुरले कैद र जरिवाना फैसला गरेपनि बर्षौदेखि फरार रहेको प्रतिवादीको सूचिमा रहेका १ सय चौवालिस जनालाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतमा बुझाएको छ । अदालतले फैसला कार्यन्वयन गर्न निर्देशन दिएपछि प्रहरीको सक्रियतामा फरार प्रतिवादीहरु धमाधम पक्राउ परेका हुन् ।

अदालतको फैसला कार्यन्वयन गर्न फरार सूचिमा रहेकालाई ९ महिनामा एक सय बयालिस जनालाई पक्राउ गरी जिल्ला अदालतमा हाजीर गराएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय सार्वजानिक मुद्धामा जिल्ला प्रशासन कार्यालयबाट एक वर्ष कैद, पीडितलाई दुई लाख रुपैंया क्षतिपूर्ती दिने र ६३ हजार जरिवाना फैसला भई फरार अभियुक्तको सूचिमा रहेका जरायोटारबाट देवेन्द्र बहादुर खत्रीलाई पक्राउ गरेको छ । यसवाहेक जिल्ला अदालतले कर्तव्य ज्यान, गालीबेइज्जती, कुटपीट, किर्तेजालसाज, चोरी, लागूऔषध कारोबार, वन, झुट्टा विवरण पेश गर्ने, लुटपाट, सवारी साधनमा आगजनी, सम्बन्ध विच्ेछद, बहुविवाह, जवरजस्तीकरणी, नाताकायम, गर्भपतन तथा विदेशी विनिमय अपचलन मुद्धामा दोषि ठहरिएका फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाएको प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले बताए । त्यसमध्ये अदालतले प्रतिवादीको फैसला बमोजिम तोकिएको जरिवाना अशुल्ने र कतिपयलाई सजाय भुक्तान गराउन कारागार चलान गरेको छ ।

जिल्ला अदालत भोजपुरले विभिन्न मुद्धामा दोषी ठहरिएका ७२ जना फरार प्रतिवादीलाई कैद भुक्तान गर्न कारागार चलान गरेको छ । यसमध्ये जरिवाना र कैद दुवै तोकिएका २४ जना छन् । जिल्ला अदालतले ५ सय ४८ जना फरार प्रतिवादीमध्ये जरिवाना तथा कैद र जरिवाना दुवै तोकिएका तीन सय ३८ जनाबाट ५ करोड २५ लाख ५३ हजार चार सय ९६ रुपैंया मध्ये चालू बर्षको आठ महिनामा जरिवानावापत १८ लाख ६९ हजार एक सय ३१ रुपैंया राजश्व अशुल गरेको जनाएको छ ।

जिल्ला अदालतले यसवर्ष कैद मात्र लागेका दुई सय दश जनामध्ये ४८ जना, जरिवाना मात्र लागेका दुई सय ४१ मध्ये एक सय चार जना, कैद र जरिवाना दुवै सजाय फैसला सुनाइएका ९७ मध्ये २४ जना गरी एक सय ७६ जनाको मुद्धा फस्र्यौट गरेको भोजपुर जिल्ला अदालतका श्रेष्तादार मणीराम पोखरेलले बताए । उनका अनुसार कुल ५ सय ४८ जना प्रतिवादीमध्ये कैद मात्र लागेका एक सय ६२, जरिवाना लागेका एक सय ३७ जना, कैद र जरिवाना दुवै लागेका ७३ गरी तीन सय ७१ जनाको मुद्धा फस्र्यौट गर्न बाकी छ । उनीहरुबाट ५ करोड १३ लाख ७६ हजार दुई सय ८४ रुपैंया जरिवाना रकम अशुल गर्नुपर्ने दायित्व रहेको श्रेष्तादार पोखरेलले जनाए ।

जिल्ला अदालतले सबैभन्दा बढी कैद र जरिवाना तोकिएका फरार प्रतिवादीको सूचिमा रहेका तीन जनालाई प्रहरीले पक्राउ गर्न नसकेको खुलासा गरेको छ । काठमाण्डौ जिल्ला अदालतबाट विदेशी विनिमय अपचलन गरेको अभियोगमा दोषि ठहरिएका भोजपुरको भूल्के गाविस–३ का कृष्णप्रसाद ढकाल र शंकर मगर फरार प्रतिवादी सूचिमा छन् । तीन वर्ष कैदसहित तीन करोड ५७ लाख ३८ हजार ६ सय ४० रुपैंया जरिवाना तोकिएका कृष्ण प्रसाद ढकाल र एक बर्ष कैदसहित ४५ लाख दश हजार ८ सय ६६ रुपैंया जरिवाना तोकिएका शंकर मगर मुद्धा फैसला भएको दिन २०६१ असार १८ गतेदेखि फरार छन् । धनकुटा जिल्ला अदालतबाट डाका मुद्धामा दोषि ठहर गरी ६ बर्ष कैदसहित ५१ लाख ९ हजार रुपैंया जरिवाना तोकिएका सन्तोष विश्वकर्मा समेत फरार छन् । फरार सूचिमा रहेका सबैको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार लम्सालले बताए । ‘सम्मानित अदालतको फैसला कार्यन्वयन गर्ने प्रहरीको कर्तव्य हो,’ डिएसपी लम्सालले भने –‘फरार सूचिमा रहेका प्रतिवादी कसैलाई छाडिन्न, खोजी कार्य जारी नै राखेको समेत बताएकाछन् ।’

Facebook Comments

सम्बन्धित

Leave a Comment