सिहँदरबार बाटै बेपत्ता रामप्रसाद राई

एविसि खबर
काठमाडौं, १६ वैशाख । नेपालको प्रजातन्त्र स्थापनार्थ लडेका सहिद रामप्रसाद राईलाई सिहँदरबार बाटै बेपत्ता बनाएको भन्दै राज्यले उचित सम्मान दिनु पर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । सहिद रामप्रसाद राई स्मृति प्रतिष्ठानले बुधबार यहाँ आयोजना गरेको कार्यक्रममा वक्ताले राणाकालीन अवस्थामा नेपालमा प्रजातन्त्र स्थापनार्थ उहाँले पु¥याउनुभएको योगदान अविष्मरणीय रहेको भन्दै उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् ।

उपप्रधानमन्त्री तथा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री सिपी मैनालीले सहिद रामप्रसाद राई लगायतका सहिदका कारण अहिले मुलुकमा लोकतन्त्र ल्याउन सम्भव भएको भन्दै नेपालमा नयाँ संविधान ल्याउँदा अकारण अमानवीय नाकाबन्दीको सिकार हुनुपरे झैँ सहिद रामप्रसाद राईलाई पनि प्रजातन्त्र आएपछि बेपत्ता बनाइनु दुःखद भएको बताए । पूर्वमन्त्री गोपाल किराँतीले पूर्वाग्रहरहित भई सहिद रामप्रसाद राईको जीवनीलाई विश्वविद्यालयमा पठनपाठन गराउनुपर्ने माग गरेका छन् । प्रतिष्ठानका अध्यक्ष तारादेवी राईले सहिद रामप्रसाद राईलाई राज्यले बेवास्ता गरेको आरोप लगाउँदै उहाँको योगदानलाई राज्यले कदर गर्नुपर्नेमा जोड दिएकी छन् ।

कार्यक्रममा प्रतिष्ठानका सचिव देवीप्रसाद घिमिरे र सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाँगेले कविता वाचन गरेका थिए । विसं १९६५ फागुन १८ गते भोजपुरको बासीखोरामा जन्मिनुभएका सहिद राईले तत्कालीन राणा सरकारको ज्यादतीविरुद्ध युद्ध नै चलाएका थिए । पहिले सेनामा रहेका राईले राणा सरकारको विरोधसँगै सेनाको जागिर छाडेर तत्कालीन विरोधी पक्षका कमान्डरका रूपमा पूर्वी पहाडका भोजपुर, ओखलढुङ्गा आदि स्थान कब्जा गरेका थिए । २००७ सालमा प्रजातन्त्र आएपछि पनि त्यो आफूलाई मान्य नहुने भन्दै सिंहदरबारमा विरोध गर्न पुग्नुभएका राई २००८ साल माघ ८ गते सिंहदरबारबाटै बेपत्ता पारिएको थियो ।

Facebook Comments

सम्बन्धित

Leave a Comment