खोटाङको प्रतिष्ठत बाक्सिला गोल्डकपको नवौं उपाधी बुइपा ईलाभेनलाई

खेलकुद

संगीता राई
खोटाङ, १४ वैशाख । खोटाङको बाक्सिलामा गत सातादेखि जारी ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि बुइपा इलाभेन स्पोर्टस् क्लव बुइपाले कब्जा गरेको छ । स्थानीय पृथ्वी उच्च माविको खेलमैदानमा सोमबार सम्पन्न फाइनल खेलमा सुन्सरीका शान्तिनगर फुटबल क्लव इटहरीलाई ट्राइबेकरमा हराउँदै बुइपाले उपाधिकब्जा गरेको हो ।

निर्धारित समयको खेलमा गोलरहित बराबरी भएपछि ट्राइबेकरमा इटहरीलाई आठका विरुद्ध नौं गोल गर्दै बुइपाले जीत हात पारेको आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष समिर राईले जानकारी दिनुभयो । जितसँगै बुइपाले एक लाख ५० हजार मुल्य बराबरको गोल्डकप, नगद ६० हजार, मेडल र प्रमाणपत्र हात पारेका छन् ।

प्रतियोगिताका उपविजेता इटहरीले नगद ३५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताका सेमीफाइनलिस्ट खोटाङबजार र जालपा गाविसले नगद १५÷१५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता अवधिभरको खेलमा सर्वाधिक गोलकर्ताका रुपमा इटहरीका बसन्त मगर, उत्कृष्ट गोल रक्षकमा बुइपाका नितेष श्रेष्ठ र उत्कृष्ट खेलाडी बुइपाकै सुनिल तामाङ घोषित भएका छन् । उनीहरुलाई जनही नगद दुई हजार ५०० को साथमा ट्रफी र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।

जिल्ला तथा जिल्लाबाहिरका गरी १७ टोलीले सहभागिता जनाएको जिल्लाकै ठुलो मानिएको प्रतियोगिताअन्तर्गत सोमबार बिहान भएको खेलमा बुइपाले जालपालाई शुन्यका विरुद्ध १ र इटहरीले खोटाबजारलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । गत वैशाख–७ गतेबाट सुरु फुटबल प्रतियोगिता भईरहँदा एकको मृत्यु र १२ घाईंते हुनेगरी चट्याङ परेपछि एक दिनपछि सकिएको हो ।

जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनका लागि ‘बाक्सिला गोल्डकप’ आयोजना गर्दै आएको जनाईएको छ । २०६१ सालदेखि निरन्तर ८ औं संस्करण गराएको क्लवले तीन वर्षको अन्तरालपछि गोल्डकपलाई निरन्तरता दिएको हो । गोल्डकपका लागि जिल्ला तथा जिल्ला बाहिर रहेका व्यक्तिले उपलब्ध गराएको चन्दाको भरमा प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि बाक्सिलाका कृष्णकुमार राईले प्रथम पुरस्कारको लागि नगद ६० हजार प्रायोजन गर्नुभएको थियो ।

Facebook Comments

Leave a Reply